सिमकोट : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । स्थानीय निर्वाचनका लागि चुनावी सभामा सम्बोधन गर्न हुम्ला पुगेका ओलीले सो कुरा बताएका हुन् ।
सम्पूर्ण देश निर्वाचनमय भएको बताउँदै ओलीले यो निर्वाचन कसैले रोक्नछेक्न नसक्ने बताए । उनले यदी कुनै पक्ष निर्वाचन रोक्नेतर्फ लागे त्यसलाई एमालेले छेकेर चुनाव गराएरै छोड्ने बताए ।
मानसरोवर बहुुमुखी क्याम्पसमा सञ्चालन भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सम्पूर्ण देश नै चुनावी माहोलमा होमिएको बताए । स्थानीय निर्वाचनबाट जनताका नजिकका जनप्रतिनिधिहरु छानिने भएको कारण सबैको चासो त्यसैमा देखिएको बताउँदै ३० गतेको निर्वाचन अपरिहार्य भएको बताए ।
आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र स्वच्छ वातावरणमा जनप्रतिनिधि छनौट गर्ने नेपाली जनतामा जिम्मेवारी आएको उनको भनाइ छ । जो जता मिलेर गठबन्धन गरेर निर्वाचनमा गए पनि एमालेका अहिलेका लहरलाई कसैले रोक्न नसक्ने बताउँदै उनले निर्वाचनपछि पनि एमाले देशमै पहिलो पार्टी बन्ने दाबी गरे ।
आवधिक निर्वाचन स्वाभाविक भएको बताउँदै त्यसविरुद्ध कोही पनि जान नहुने उनले बताए । हाल देशमा सत्ता गठबन्धन दलहरु एकातिर र अर्कोतिर एमाले भएको कारण दुुई पक्षीय निर्वाचनमा भिडन्त हुने उनले बताए ।
आफुु जता गएपनि एमालेको जनलहर देखिएको बताउँदै अध्यक्ष ओलीले एमाले जसरी पनि निर्वाचन समयमै हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । एक अर्को प्रसंगमा उनले हालसम्म सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट जति सक्दो चाँडो जोड्ने तर्फ लाग्नुुपर्ने बताए ।
अहिले कर्णालीमा जति पनि समस्या देखिएका छन् ती सबै सडक यातायात नजोडिएको कारण भएको बताउँदै उनले तर सम्भावना भने कर्णालीमा धेरै भएको बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष बिष्णु पौडेलले निर्वाचन परिक्षणको घडी भएको र अब जनताले ध्यान दिन आग्रह गरे । पछि पछुताउनुभन्दा अहिलेले योग्य र काम गर्न सक्ने जनप्रतिनिधि छनौटमा ध्यान दिन उनले आग्रह गरे ।
यसअघि सिमकोट विमानस्थलबाट बाजागाजासहित एमालेले र्याली निकालेर सभामा परिणत भएको थियो । अध्यक्ष ओलीले आइतबार नै दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा भएको सभामा पनि सम्वोधन गरेका थिए ।