सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय चुनाव केन्द्रित कार्यक्रममा कर्णालीमा घुमिरहेका छन् । दिनमा चार जिल्लासम्मको फन्को लगाएर चुनावी प्रचारमा जुटेका ओली पछिल्लो एक हप्तामा कर्णालीका दुई जिल्लामा दौडधुप गरे ।
केही समयअघि दैलेख पुगेका ओली आइतबार कर्णालीको हिमाली जिल्ला हुम्ला पुगे । आइतबार हेलिकोप्टरमै हुम्लाको सिमकोट पुगेका ओली बेलूकी हुँदा फर्किए । सिमकोटमा चुनावको रापतापमा ओलीले चुनावी भाषण त गरे । तर कार्यकर्ताका लागि नभई सत्तारुढ गठबन्धनको खोइरो खने ।
एमाले कार्यकर्तालाई अहिले पनि लागेको चाँही के हो भने राष्ट्रवादका एक मात्रै सुत्राधार ओलीलाई देश दौडाहा पारे मतदाता प्रभावित गर्न सकिन्छ भन्ने छ । तर २०७४ सालको चुनावमा त्यही सुत्रले चुनाव जित्दा संसद् विघटनको परिणीति चाँही जनताले बिर्सेका छैनन ।
त्यही भएर ओलीले चुनावी भाषणमा एमालेको योजना, कार्ययोजना, एजेन्डा र कार्यदिशा होइन, आफ्नै दलको महिमा गाएर विपक्षीमाथि गाली वर्षाउन थाल्छन् । यो ओलीको बाध्यतात्मक अवस्था हो । सरकारमा दुई तिहाईको बहुमत आफ्नै संसद् विघटन निर्णयले धुलिसात बनाउँदा ओलीसँग अरु फलाक्ने कुनै सुत्र र अस्त्र छैन ।
त्यो भन्दा महत्वपूर्ण अहिले ओली कर्णालीको फन्को लगाइरहदा सुर्खेतमा हुलहुज्जत गर्न सकेका छैनन । ओली कर्णाली प्रदेशको राजधानीमा कार्यक्रम गरेर कुर्लिनुपर्ने हो । बोल्नुपर्ने हो । चर्किनुपर्ने हो । तर ओली त्यो गरिरहेका छैनन् ।
केवल आफ्ना विश्वासमित्रले जहाँको कार्यक्रम तय गरिरहेका छन्, त्यहाँ जान कुनै कसुर बाँकी राखेका छैनन । तर ओली सुर्खेत छिर्न सकेका छैनन । यसमा एउटा कारण कारक छ, त्यो हो यामलाल कँडेलको मौनता ।
एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता हुन यामलाल कँडेल । एक हिसाबले कर्णालीको सबैभन्दा ठूलो नेता पनि एमालेका लागि यामलाल नै हुन् । तर ओली यामलाललाई जिल्लास्तरीय नेतामात्रै देख्छन् । हेर्छन् । त्यो भन्दा यामलाललाई देख्ने ओलीको चश्मा छैन ।
चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा ओलीले यही कुरा पुष्टि गरे । यामलाल केवल सुर्खेती नेता हुन् । उनी कर्णालीका नेता हुन सक्दैनन् । एमालेको केन्द्रीय सचिव बन्ने गरि पदाधिकारीको माग गर्दा ओलीले त्यतिबेला कान थुनेको देख्ने दूनियाँ छन् ।
एमालेका सबैजसो केन्द्रीय पदाधिकारी तहका नेताहरुले यामलालको माग र आवश्यकता सम्बोधन गरेनन् । कतिसम्म भने सुन्न पनि चाहेनन् । कर्णाली पनि हामीलाई चाहिन्छ । कर्णालीका एमाले कार्यकर्ताको पनि मन राख्नुपर्छ भनेर त्यसको हेक्का ओली र उनका नेतामा भएन ।
तर अहिले चुनाव आउँदा ओली कर्णाली केन्द्रित छन् । तर ओलीका लागि बाटो छेक्न नसकेपनि मुख थुनेर बसेका छन्, यामलाल । जसरी चितवनमा ओलीले यामलालका लागि एक शब्द बोल्न आवश्यक ठानेनन्, त्यसैगरि यामलालले पनि कर्णालीमा ओलीको धमकेदार चुनावी कार्यक्रममा एक स्टाट्स लेख्न सकेका छैनन ।
काठमाडौँमा कर्णालीलाई ठाउँ नै नदेख्ने, मान्छे नै नदेख्ने, नेता नै नमान्ने ओली प्रवृत्तिप्रति यतिबेला यामलाल आक्रोशित छन् । उनले मौनता साँधेरै ओलीलाई भन्न चाहिरहेका छन्, ‘एमालेमा कर्णालीलाई राजनीतिक विभेद कहिलेसम्म ?’
होइन भने आफ्नो पार्टीको अध्यक्ष आउँदा यामलाल ओलीको पछि पछि लाग्नुपर्ने हो । सबै तारतम्य मिलाउन अघि सर्नु हो । तर यामलाल त्यसरी सक्रिय भइरहेका छैनन् । उनको सक्रियता भएपनि केवल औपचारिकतामा छ । जुन बाहिर देखिन त के देख्न पनि मुश्किल छ ।
नवराज रावत फ्याक्टर
पछिल्लो समय कर्णालीमा देखिएको एउटा सत्यता के हो भने ओली यामलालको विकल्प खोजिरहेका छन् । ओली यामलालबाट सन्तुष्ट छैनन । अरु कसैले खेल्न चाहेर हो वा यामलालले ओलीको चित्त बुझाउन नसकेर हो ? तर ओली यामलालको विकल्पमा नवराज रावतलाई अघि सार्न खोजिरहेको देखिन्छ ।
आफ्नो मन्त्रिपरिषद्मा रावतलाई स्वास्थ्यराज्यमन्त्री बनाएका ओलीले सुरुमा सुर्खेतमा स्थापित गर्न खोजेका थिए । तर रावतका उम्मेद्वारले जित हासिल गर्न सकेनन् । अहिले रावत आफै पनि ओलीको कर्णाली उत्तराधिकार बन्ने होडबाजीमा छन् ।
यामलालको विकल्पमा रुपमा आगामी दिनमा कर्णालीमा बर्चश्व जमाउने रावतको भित्री चाहना छ । जसलाई ओलीको ग्रिनसिग्नल पनि छ । तर यो सजिलो भने छैन । कर्णालीको राजनीतिमा भिजेका यामलालको विकल्पमा रुपमा रावत तयार हुन सक्लान, तर सक्षम हुन सक्दैनन् ।
अहिले पनि कर्णालीमा सबैले मान्ने नेता हुन्, यामलाल । भलै उनकै दिमागी राजनीतिले सही बाटो नसमात्दा एमालेले कर्णालीमा बहुमत पाउँदा पनि सरकार गठन गर्न सकेन । यामलाल मुख्यमन्त्री बन्न सकेनन् । सायद ओलीको असन्तुष्टि पनि त्यसैमा हो कि ? जसले गर्दा एमाले नै फुट्यो ।
यस्तो अवस्थामा ओली कर्णाली प्रदेश फन्को लगाइरहने र यामलाल खुशी नहुने हो भने आगामी चुनावमा एमालेको अवस्था नाजुक हुन सक्छ । यसको जति धेरै दोष ओलीमा जानेछ त्यति नै जिम्मेवारी यामलालले पनि लिनुपर्नेछ । जुन भविष्यको गर्भमा छ ।
तर यावत मौनताको जवाफ दिनूको साटो ओली सत्ता गठबन्धनलाई गाली गर्नमै समय खर्चिन्छन् । कार्यकर्तालाई अनावश्यक कुतर्क सुनाएर वाक्क दिक्क बनाउँछन् । आफ्नै नेता कार्यकर्तामुखी भाषण गरेर एमालेमा कर्णाली फ्याक्टरलाई सम्बोधन गरेर न्याय गर्नुको साटो उल्टै गाली गरेर हिड्नु कर्णालीमा ओलीका लागि घातक हुन सक्छ ।
क्षणिक रुपमा एमालेका कर्णालीका नेता दल रावल र रवीन्द्र शर्मालाई खुशी पारेपनि दीर्घकालीन रुपमा यसको घाटा पूरा एमाले नेता कार्यकर्तालाई छ । जसको हिसाबकिताब स्थानीय तह र आम चुनावले पनि ढिलोचाँडो देखाउने नै छ ।