सुर्खेत : हर्षविक्रम खड्कालाई हराउँदै सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सुरुमा झिनो मतान्तरले अघि रहेका कँडेल अन्ततः स्पष्ट मतान्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।
यो सुर्खेतमा कांग्रेसका ‘टावर लिडर’ पूर्णबहादुर खड्का पक्षलाई ठूलो धक्का हो । अनि एमाले एक्लैले सत्ता गठबन्धनलाई हराएको चुनाव पनि । चुनावको पाँच दिनअघि मात्रै सुर्खेतका सत्ताधारी दलले व्यापारीको चुनावमा स्वच्छ प्रतिष्पर्धालाई स्वतन्त्र छाड्नुको साटो विज्ञप्ति निकालेर हस्तक्षेप गरेका थिए ।
त्यसरी सिधा हस्तक्षेप गर्दा अध्यक्षका उम्मेद्वार र खड्काभन्दा व्यापारिक र क्षमताका हिसाबले एक कदम अगाडि रहेका कँडेलप्रति समर्थन गर्ने व्यापारीलाई झस्काएको थियो । त्यो भन्दा बढी व्यापारीको चुनावमा स्वतन्त्र नेतृत्व छान्न दिनुपर्नेमा सत्ता गठबन्धनले धम्की दिएर राम्रा व्यापारीलाई नेतृत्वमा आउन दिनुपर्नेमा त्यसको बाधक बन्दा आफै पराजित हुनु परेको छ ।
यो सुर्खेतमा एकछत्र राज गर्ने र गरिरहेको खड्का पक्षलाई ठूलो धक्का हो । यद्यपी कँडेल पक्षलाई खड्का पक्षकै केही व्यापारी, पूरा एमाले पार्टी कांग्रेस संस्थापनइतर पक्ष, माओवादी र नेकपा एकिकृत समाजवादीका व्यापारीको पनि समर्थन थियो ।
उनीहरु बाध्यात्मक रुपमा गठबन्धनमा समर्थित भएपनि भित्र भित्रै कँडेल प्यानलले नै चुनाव जितोस् भन्ने चाहेका थिए । जुन अन्ततः प्रमाणित पनि भयो । गठबन्धनको सुरक्षित संरक्षण र प्रचारमै चुनाव जितिन्छ भन्ने योजनामा रहेका खड्का पक्षका उम्मेद्वार अन्तिम समयमा नराम्ररी पछारिनु परेको छ ।
यसले अनावश्यक राजनीतिक हस्तक्षेप गर्न रुचाउने खड्का पक्षका नेता, कार्यकर्ता र व्यापारीलाई पनि ब्युझाएको हुनुपर्छ । झण्डै एक वर्ष लगातार स्वतः अध्यक्षका उम्मेद्वार रहेका खड्कालाई मुद्दा मामिलामा अल्झाएको खड्का पक्षले त्यसैलाई हारको कारणको रुपमा समीक्षा गर्न पनि आवश्यक छ ।
इतिहासमा स्वतन्त्र व्यापारीको संस्थालाई राजनीतिकरण गरेर मुद्दा मामिलामा अल्झाउने प्रयास नै खड्का पक्षका लागि घातक रह्यो । प्रतिपक्षी एमालेले समर्थन गर्दा मात्रै होइन, खड्का पक्षकै व्यापारी पनि हर्षविक्रमको मुद्दामामिला गर्ने काम तथा व्यवहारबाट सन्तुष्ट थिएनन् ।
महासचिव पनि अध्यक्ष कँडेल प्यानलकै भद्र भण्डारी विजय हुँदा खड्का पक्ष स्वतः व्यापारिक संस्थाको नेतृत्वबाटै अलग्गिएको छ । कांग्रेसकै दुई प्यानल एकआपसमा प्रतिष्पर्धा गर्दा चुनावी परिणमा जे आएपनि यतिबेला राष्ट्रिय राजनीति, प्रदेश राजनीति र सत्ताको बागडोर सम्हालिरहेका पूर्णबहादुर खड्काका लागि धक्काको विषय हो ।
सुर्खेतमा यो चुनावले आन्तरिक रुपमा हृद्यराम थानी पक्ष फेरि सशक्त भएको छ । यामलाल कँडेल निर्देशित कांग्रेस संस्थापनइतर पक्षलाई सहयोग गर्ने एमालेको निर्णयले पनि केही सहयोग गरेको देखिन्छ । मुल कुरा जसरी सुर्खेत उद्योग वाणिज्य संघमा अनावश्यक रुपमा पार्टीका नेता छिरेर घृणित राजनीति गर्न लागे, त्यो चिन्ताजनक छ ।
पाँच दल एक ठाउँमा आउँदा पनि सुर्खेतको उद्योग वाणिज्य संघको चुनाव जित्न नसक्ने सत्ता गठबन्धनले अहिलेकै अवस्थामा गठबन्धन गरे त्यसको सोझो असर सत्ता र शक्तिको नेतृत्व गरिरहेको कांग्रेसलाई पर्न सक्छ ।
अनि सत्ता गठबन्धनभित्रैको किचलोलाई फाइदा उठाएर एमालेले स्थानीय तहको चुनावमा फाइदा उठाउन सक्छ । कर्णालीका तीन जिल्लामा स्थानीय तहको चुनावमा सत्ता गठबन्धन भत्किदा सुर्खेतमा पनि अब सोझो रुपमा अलग अलग चुनावी प्रतिष्पर्धा हुन सक्छ ।
जसले माथिको आदेशमा होइन, ‘ग्राउण्ड’जुन आधार बनाएको छ, त्यसैले जित्छ भन्ने सन्देश सुर्खेत उद्योग वाणिज्य संघको चुनावले दिएको छ । जसमा एमाले प्रतिपक्ष भएपनि केही ठाउँमा निर्णायक बनिदिन सक्छ ।