वीरेन्द्रनगर : मध्यपश्चिम विश्वविद्यालय एमयूको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार, केन्द्रीय कार्यालय सुर्खेत वीरेन्द्रनगरको कुइनेपानीमा उक्त समारोह सम्पन्न भएको हो ।
दोस्रो दीक्षान्त समारोहको अध्यक्षता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गरेका थिए । समारोहका प्रमुख अतिथि नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थी थिए ।
शिक्षामन्त्री पौडेलले निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न एमयूले भूमिका खेल्ने बताए । उनले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा एमयूलाई व्यवस्थित गर्न समेत बताएका थिए ।
दोस्रो दीक्षान्त समारोहका प्रमुख अतिथि नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीले व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग शिक्षा बताएको बताए । उनले आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन दीक्षित विद्यार्थीहरूलाई आग्रह समेत गरेका थिए ।
दोस्रो दीक्षान्त समारोहबाट मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना गरेर ९ स्नातकोत्तर तहका विद्यार्थीलाई कुलपति पदक दिइएको छ भने स्नातक तहका २० जना विद्यार्थीलाई दिइएको छ । जसमा मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गरिएको छ ।
यस्तै व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तिर्ण गरेका २ र स्नातक तह उत्तिर्ण गरेका ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक दिइएको भने एमयूमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहबाट दिक्षित गरिएको हो ।
मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको एमयूका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन् । एमयूबाट पहिलो विद्यावारिधी उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ ।
साथै दीक्षान्त समारोहको भोलिपल्ट विदा दिने आम प्रचलन अनुसार ०७ गते विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरुमा विदा दिइएकाले दैनिक रुपमा सञ्चालन हुँदै आएका शैक्षिक प्रशासनिक कामकाज उक्त दिन बन्द रहने रजिष्ट्रार पौडेलले जानकारी दिए ।