वीरेन्द्रनगर : यदि तपाई पत्रकार हो ? दिनमा कति वटा समाचार लेख्नु भएको छ ? हप्तामा कति वटा लेख्नु भएको छ ? पत्रकारले कति धेरै समाचार लेखेको देख्नु भएको छ ? मासिक र वार्षिक रुपमा कति समाचार लेख्नु पढ्नु भएको छ ?
सायद दिनमा एउटा, दुई वटा, तीन वटा, चार वटा वा पाँच वटा समाचार तपाई हामी सबैले लेखेका छौँ । कहिलेकाँही त्यो भन्दा पनि बढी । त्यसरी हिसाब गर्दा महिनामा ३० वटा, चालीस वटा समाचार लेखेका छौँ होला ।
तर हुुम्लाका पत्रकार राजन रावत दैनिक दर्जन बढी समाचार लेख्छन् । मासिक ६० भन्दा बढी समाचार लेख्छन् । अनि वार्षिक पाँच सय भन्दा बढी समाचार लेख्छन् । एक पत्रकारका लागि हिसाब गर्दा यो सामान्य आँकडा होइन, त्यो पनि सुगममा होइन, दुर्गम कर्णालीमा । कर्णालीको पनि हुम्लामा । जहाँ बिजुली धेरै परको विषय हो, सडक पनि पुगेको छैन ।
एक चुनौति बोक्ने पत्रकारको चर्चा
कर्णाली भनेको सुर्खेत होइन । कर्णालीको दर्दसँग सुर्खेतलाई दाँज्नु उचित होइन । सुर्खेतपछि ‘कर्णाली’ भएको हो । जतिबेला संघीयताले अभ्यास सुरु गर्यो । प्रदेश बन्यो । अनि, त्यसको राजधानी सुर्खेत बन्यो । त्यसपछि मात्रै सुर्खेतलाई कर्णाली भनेर चिनिएको हो ।
कर्णालीका वास्तविक कथा व्यथा अर्के छन् । जहाँ सदरमकाुम बाहेक अन्य ठाउँमा यातायातको पहुँच छैन । विद्युतको पहुँच छैन । सूचना तथा सञ्चारको पहुँच छैन । त्यसको नाम र सिंगो जिल्ला हो, हुम्ला ।
अहिलेसम्म सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालपसँग जोडिन सकेको छैन । राजधानी आउँदा होस् या जाँदा महँगो लाग्ने हवाइयात्रा गर्नुको विकल्प छैन हुम्लीवासीलाई । कहिले त्यहीँ टिकट पनि पाइँदैन ।
इन्टरनेटको सास्ती उत्तिकै खेप्नुपर्छ । विद्युतको अवस्था उहीँ हो । तैपनि स्थानीयलाई सुचनासँग जोड्ने पुल बनेका छन् हुम्लाका पत्रकार राजन रावत ।
नेपाल टेलिकमको फोन नै राम्रो काम गर्दैन कर्णालीमा । इन्टरनेटका कुरा धेरै परका विषय हुन् । र, पनि राजन हुम्लाका सूचना राष्ट्रिय मिडिया र मूलधारसम्म पु¥याउने मुख्य काम गर्छन् । राजन जस्तै हुम्लामा अरु पत्रकारको पनि नाम छ । उनीहरुका बाध्यता पनि अनेक छन् ।
तर, राजन हुम्ला बसेर दैनिक समाचार लेख्ने गर्छन् । एउटा मात्रै होइन, दर्जनौँ समाचार । एक दिन होइन, सातै दिन । उनी आफैँले कैयौँ दिन सुर्खेत र काठमाडौँ बसेर पनि हुम्लाका समाचार लेख्छन् । फाट्टफुट्ट मात्रै होइन, नियमित समाचार लेख्छन् ।
जिल्लाको ठूलै समाचार भए लेख्ने प्रवृत्ति उनमा छैन । उनका लागि सबै विषय समाचार हुन् । साना सूचना पनि समाचार हुन् । उनको नजरमा नेताको अनुहार समाचार होइन । गतिविधि र घटना प्रधान हुन् । काम र दुःखका सबै विषय समाचार हुन् ।
हुम्लामा बसेर पत्रकारिता गर्न कठिन छ नै । उत्तिकै चुनौतीका साथ कर्णालीको वास्तविकता, आवश्यकता र सम्भावनालाई अडियो, भिडियो छापा र अनलाइनमा पुर्याउने काम राजनले गरिरहेका छन् ।
कर्णालीमा पनि हुम्लाको वास्तविकता अझै पनि विकासका दृष्टिले सबैभन्दा मूनि अर्थात पिँधमै छ । त्यस्तो ठाउँमा पत्रकारिता गर्न चुनौति भैहाल्यो नै । त्यसैको फेरोमा पत्रकारिता गर्न लागेका राजनको दुई दशक बित्यो ।
पत्रकारिताका हिमायतीको यात्रा
आम सञ्चार तथा पत्रकारितामा काठमाडौंको आरआर क्याम्पसबाट स्नातक गरेका राजन कर्णालीको हिमाली जिल्लामा पत्रकारिता पढेको पहिलो पत्रकारका रुपमा गनिन्छन् ।
भन्छन् ‘मोफसलमा पत्रकारिता गर्न निकै गाह्रो छ । त्यसमाथि कर्णालीको मोफसल । झनै गाह्रो छ । स्रोतको अभाव छ । साधनको अभाव छ । इन्टरनेट छैन । विद्युत छैन । तैपनि जनतालाई सुचना पुर्याउउनैपर्छ । त्यो मेरो कर्म हो । त्यसैलाई आत्मसाथ गर्छु ।’
राजनले पत्रकारिता सुरु गर्दा देशमा माओवादीको सशस्त्र विद्रोह थियो । विद्रोहकै बीचमा हुम्लामै पत्रकारिता गरे । पारिवारिक कारण उनले पत्रकारितामा केही समय विराम लगाए । अनि, तर पनि उनले निन्तरता दिए ।
अहिले राजन गोरखापत्र दैनिक लगातयत राष्ट्रिय मिडियामा आवद्ध छन् । अभावै अभावमा पनि उनको उनको दिन समाचार लेखेरै बित्ने गरेको छ । हुम्लाका कुनै पनि सुचना त्यो दलको कार्यक्रम होस् या कृषि सहकारी उनका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । उनी आवद्ध मिडियाले पनि उनलाई उत्तिकै विश्वास गरेका छन् । उत्तिकै प्राथमिकतामा राखेका छन् ।
त्यही भएर उनले बितेको महिना मात्रै गोरखापत्र दैनिकमा उनका ६० भन्दाबढी समाचार छापिएका थिए । वर्ष ०७८ मै गोरखापत्र दैनिकमा उनका ६ सयभन्दा बढी समाचार छापिएका छन् । यो दैनिक पत्रकारितामा मात्रै हो । फरक सूचना अनलाइनमा पनि उत्तिकै छापिने गरेका छन् ।
वर्षमा पाँच सय भन्दा बढी समाचार लेख्ने राजन भन्छन् – ‘मेरो मुख्य काम भनेकै सबै यहीँ पत्रकारिता हो । यसैलाई नै कर्म बनाइयो । बाँकी सकेसम्म गर्नेछु । साथीहरुले पनि उत्तिकै विश्वास गर्नुहुन्छ । हुम्ला जस्तो ठाउँ हो । भने जस्तो तवरले समाचार पठाउन अझै सकिएको छैन । बढी सिमाना र जनजीवनका समाचारलाई प्राथमिकतामा राख्छु ।’
कर्णालीमा पत्रकारिता गर्न गाह्रो छ । दुःख बढी छ । पारिश्रमिक कम दिने मूलधारका मिडियाको रोग नै हो । कहिले काहीँ समाचार छाप्न पनि मुस्किल मान्छन् । त्यसमाथि कर्णालीमा पत्रकारिता गर्न अरु कुनै पेशा अगांल्नुपर्ने बाध्यता छ ।
यस्तो अवस्थामा पनि विशुद्ध पत्रकारितालाई नै पेशा व्यवसाय बनाएका राजन जस्ता पत्रकार पत्रकारकै छाता संस्था नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष हुँदा पनि मूल काम नेताइत्व होइन, पत्रकारिता गर्छन् । कर्णालीका हिमायती पत्रकारको यस्तो मूल विशेषताले नै कर्णाली समृद्धितर्फ लम्किन सक्छ ।
जसको लगनशीलता बन्द कोठामा होइन । गोरखापत्र, देशसञ्चार अनलाइन र कर्णालीखबर डटकममा खुला छ । उनको पत्रकारिता एउटा खुला किताब हो ।