डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो ।
बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई १३ किमी सडकमा दुई गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।
तीन करोडको पुल खोइ
तत्कालीन जिल्ला विकास समितिको रु तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण शुरु गरिएको थियो । सो वर्ष टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिए।
पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताए। निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा खर्च भएको बताए ।
तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्ण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन ।
जोखिम मोलेर सवारी यात्रा
समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठकोे पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताए ।
दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उनले माग गरे । अघिपछि भन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।