सुर्खेत : मुख्यमन्त्रीको कुर्सीमा बसेपछि कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्ना पाँच महिने उपलब्धी सार्वजनिक गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकअघि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले पाँच महिने उपलब्धी सार्वजनिक गरेका हुन् ।
उनले पछिल्लो पाँच महिनामा विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्यूत, खानेपानी, पत्रकारिता, खेलकुद क्षेत्रमा भएका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । बिहानैदेखि राती अबेरसम्म कार्यालयमा काम गरेर बसेको पनि उनले उल्लेख गरेका छन् ।
शिक्षामा विभिन्न स्कुलको भौतिक सुधारको कामदेखि स्वास्थ्यमा अस्पतालका भवन निर्माण काम भइरहेका मुख्यमन्त्रीको उपलब्धीमा उल्लेख छ । यस्तै कृषि, उद्योग, ऊर्जातर्फ भएका कामबारे मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
आफूले कार्यभार सम्हालेपछि केही काम भएका तर धेरै काम कार्यान्वयनकै चरणमा रहेका पनि उनले बताए । आफ्नो कार्यकालमा भौतिक संरचना विकास अन्तर्गत सडकको भइरहेको उनको भनाई छ । जसमा १७० किलोमीटर सडकको ट्याक खोल्ने काम भएको छ । यसबीचमा ३० किलोमीटर सडकको स्तरोन्नति र सात वटा पुल बनेका पनि उनले सार्वजनिक गरेको उपलब्धीमा उल्लेख छ ।
मुख्यमन्त्रीले कार्यभार सम्हालेदेखि आफूले अहोरात्र काम गरिरहेको पनि दाबी गरेका छन् ।