विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका पाँच वडा अध्यक्षसहित १३ जना जनप्रतिनिधिले बिहीबार एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आगामी निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनका लागि उनीहरुले राजीनामा दिएका हुन् । विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० नम्बर वडाका माधवराज वाग्ले, विराटनगर–१४ का बलदेव यादव र विराटनगर–१९ का वडाध्यक्ष बद्री नारायण सरदारले राजीनामा दिएका हुन् ।
त्यसैगरि सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुक रहेका छन्। विराटनगर ११ का वडाध्यक्ष न्यौपानेले आगामी निर्वाचनमा उम्मेदवारी दिन वडा पार्टी कमिटीले सर्वसम्मत नाम सिफारिस गरेकाले पद बाट राजिना दिएको उनले बताए।
विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन्। गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो।
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागु गरेको छ।