खलंगा : जुम्लाको तिला गाँउपालिका ३ सार्कीवाडामा शुक्रबार राती भएको आगलागीको घटना शंकास्पद देखिएको छ । गएराती ११ बजेर २० मिनेट जाँदा स्थानीय मानबहादुर सार्कीको घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ ।
घरमा आगलागी कुनै लापरबाही गरेर भएको हो वा लगाइएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर मध्यरातमा वडाध्यक्ष सिंह बुढा घरमा प्रवेश गर्नु, केही समय घरमै रहनु र उनी घरबाट निस्कनेवित्तिकै आगलागी हुनुलाई शंकास्पद ढंगले हेरिएको छ ।
घटनास्थल जुम्ला सदरमुकामबाट झण्डै २० किलोमीटर दुर्गममा हो । सोही कारण पनि तथ्य बाहिर आउन सकेको छैन । आगलागीपछि घरमा रहेका बालबालिका बाहिर निकाल्न नसक्दा जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
वडाध्यक्ष आउनु र जानुलाई रहस्यमय ढंगले हेरिएको छ । यस विषयले पनि स्थानीयले मुख खोल्ने प्रयास गरेका छन् । तर प्रहरीले अनुसन्धान गरिरहेकाले अहिले उनीहरुको बोली सार्वजनिक भएको छैन ।
स्थानीयका अनुसार वडाध्यक्षले रक्सी खाएर सो घरमा पुगेका थिए । उनको साथमा केही मानिस पनि थिए । ती को थिए ? खुलेको छैन । एमालेबाट निर्वाचित वडाध्यक्ष चुनावको समय भइरहदा किन मध्यराती घर पुगेका हुन् ? यसबारे खुल्न बाँकी छ ।
उनी घरमै खाना खाएर निस्केको पनि स्थानीयले बताएका छन् । उनी निस्कनेवित्तिकै आगलागी हुनु र त्यो आगो नियन्त्रणमा लिने प्रयासमा किन लापरबाही गरियो ? त्यो भन्दा महत्वपूर्ण कुरा बालबालिकालाई उद्धार गर्न किन ढिलाई गरिएको हो ? यसको तथ्य बाहिर आउन बाँकी छ ।
तर चार चार जना बालकालिकाको मृत्यु भएको घटनालाई सामान्य विपद्को कारण देखाएर अनुसन्धानबाट पन्छाउने काम हुन हुँदैन । आगलागी हुनुको कारण, त्यससँग जोडिएको व्यक्तिमाथि छानबिन र आगलागीमा परेर आफ्ना छोराछोरी गुमाएका मानसिंह दम्पतिलाई तत्काल राहतको व्यवस्था गर्न वडामार्फत माथिल्लो निकायसम्म ध्यानाकर्षण हुन जरुरी छ ।
अन्यथा यो दुर्घटनालाई देखाएर वास्तविक आगलागी जस्तो घटनालाई लुकाउने दुष्प्रयास भइरहेकोमा शंका रहन सक्दैन । प्रहरीले मुचुल्का मात्रै होइन, घटनाबारे स्थलगत छानबिन टोली गठन गरेर अनुसन्धान अगाडि बढाउन आवश्यक छ ।
‘हामीलाई पनि यो आगलागीको घटना भएपनि वास्तविकता अरु नै केही छ कि भन्ने शंका छ’, एक स्थानीयले घटनास्थलबाट भने, ‘बाहिर आगो लाग्यो भनेर पन्छिने मात्रै नभई आगो कसरी लाग्यो, कसले लगायो ? कहाँबाट सुरु भयो भन्ने कुराको छानबिन आवश्यक ठानेका छौँ ।’
पीडित मानसिंह आर्थिक अवस्थाले कमजोर भएका कारण पनि प्रहरीले घटनालाई सामान्य ढंगले लिँदा अनुसन्धान अगाडि नबढ्ने हो कि भन्ने चिन्ता रहेको उनले बताए ।