सुर्खेत : सुर्खेतको बराहताल र चौकुने गाउँपालिकामा माओवादी केन्द्रका दुई नेताले दाबी गरेका छन् । बराहताल गाउँपालिकाको अध्यक्षका लागि इश्वरभक्त सुनार ज्योति र चौकुने गाउँपालिकाको अध्यक्षका लागि खड्क बासपाने विवशले दाबी गरेका हुन् ।
उनीहरुको दाबीलाई अनुमोदन गर्दै माओवादी केन्द्रले गठबन्धनमा चौकुने, बराहताल र चिंगाड पाउनुपर्ने माग गर्दै आएको छ । तर नेकपा एकिकृत समाजवादीले पनि चौकुनेमै आफ्नो दाबी छाडेको छैन । पश्चिम सुर्खेतको चौकुनेमा जिल्ला अध्यक्ष मोहन बडुवालको राम्रो प्रभाव रहेकाले नेकपा एकिकृत समाजवादीले दाबी गरेको हो ।
सुर्खेतका ९ वटा पालिकामा माओवादीले यी तीन वटा पालिका आफूले पाउनुपर्ने माग गर्दै बटमलाइन नै बनाएको छ । तर समाजवादीको दाबीका कारण चौकुनेमा माओवादीको दाबी चुनौतिपूर्ण छ । यद्यपी, पार्टीबाट टिकट पाएपछि विवश उम्मेद्वारका रुपमा चुनावी प्रचारप्रसारमा लागिसकेका छन् ।
पार्टीबाट सर्वसम्मत उम्मेद्वार बनेका उनीहरु सत्ता गठबन्धनको भागबण्डाको निर्णय पर्खिरहेका छन् । सुर्खेतमा पछिल्लो एकहप्तादेखि गठबन्धनका पाँच दलबीच भइरहेको वार्तामा सहमति हुन सकेको छैन ।
माओवादीले बराहताल, चौकुने र चिंगाड दाबी गरेको छ । चिंगाडमा जित रानाको दाबेदारी छ । माओवादीको पकड रहेको भनिएकी यी पालिकामा उनीहरु आन्तरिक रुपमा चुनाव प्रसार प्रसारमा लागेका छन् । यसअघि बराहतालमा कांग्रेसले जित्दा चौकुनेमा एमालेले बाजी मारेको थियो ।
दुवै पालिकामा गएको वर्ष माओवादी केन्द्रका उम्मेद्वार झिनो मतान्तरले पराजित भएका थिए । अहिले बराहताल र चौकुनेमा आफूहरुले जित्ने दाबी दुवै जनाले गरेका छन् । गएको पाँच वर्षको समीक्षा गर्दै अहिले संगठन धेरै सुधार भएकाले आफूहरुले स्वतः जित्ने दुवै जनाको भनाई छ ।
‘हामी कुनै हालतमा जित्छौँ । सच्चा कम्युनिष्टदेखि समाज बदल्न गर्नुपर्ने सबै काममा हामी अध्यक्ष बन्न सक्षम छौँ,’ दुवै जनाको साझा भनाई छ, ‘पार्टीको योगदान, मूल्यांकन र जनआधार भएकाले पनि जित्ने कुरामा शंका छैन ।’
दलित समूदायबाट तत्कालीन सशस्त्र द्वन्द्वमा होमिएका दुवै जना सुर्खेतमा स्थापित र परिचित नेता हुन् । राजनीतिमा टिकिरहन ठूलो संघर्ष गरिरहेका ज्योति र विवशमाथि पार्टीले भरोसा गरेपनि अपेक्षाकृत जनताबाट अनुमोदन हुन बाँकी छ ।