झण्डै पचास बर्षदेखि सर्वचेतन मनले म नेपाली कांग्रेसमा आबद्ध भएको हुँ । अहिले मेरो आवध्दता सैध्दान्तिक मात्रै छ ।
म बाँची रहेको कालखण्डमा नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर राणा, सरोजप्रसाद कोइराला, शैलजा आचार्य तथा गिरिजाप्रसाद कोइरालाको बिचार–प्रक्रियाको सानिध्यमा रहेर, सर्वोपरि स्वतन्त्रता र लोकतन्त्रका लागि मैले काम गरेको हूँ । नेपाली कांग्रेसमा बिबादको कहिल्यै कमी रहेन । त्यसैले नेपाली कांग्रेसमा उठने विवादलाई म सामान्य ठान्दछु ।
नेपाली कांग्रेस सँधै राजनीतिक, आर्थिक र सामाजिक उहापोहमा बाँचेको पार्टी हो । पहिलो राष्ट्रिय जन–आन्दोलन २०४६ पछिको समयमा पार्टीले लोकतान्त्रिक समाजवादी बिचारका आधारमा जनतालाई सुरक्षा दिने आशा देशभरिका कांग्रेसजनमा छाएको थियो । त्यसका विपरित कांग्रेसका दुर्दिन शुरु भए ।
अहिले समयले कोल्टे फेरेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रको वातावरण तयार हुँदैछ । यो वातावरणमा कांग्रेस सबै बिचारको मियो बनेर रहनु पर्दछ ।
अहिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बिभिन्न विपक्षी दलका नेतासंग संवाद र सहमतिको राजनीतिमा छ कांग्रेस । आगामी चुनावको परिणामले राजनीतिको पानी सङलो बनाउने आशा गर्न सकिन्छ ।
पहिलोे जन–आन्दोलनपछि कांग्रेसले जनताका अपेक्षा पूरा गर्न सकेन । तर, यसले स्वतन्त्रताको आगो पनि निभ्न दिएन । वामपन्थी दलहरुसंग गठबन्धनमा रहेको कांग्रेसको नेतृत्वमा गणतन्त्रको दोस्रो राष्ट्रिय निर्वाचन हुँदैछ । तर, बिभिन्न जिल्लामा कांग्रेसीहरु गठबन्धन सरकारका बिरुध्द नारा लगाउँदैछन ।
गठबन्धनले तोकेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने प्रवृत्तिले टाउको उठाउन थालेकोछ । यो विवेकससम्मत राजनीति होइन । कांग्रेसका नेताहरुले स्थानीय, प्रदेश र संघीय तहमा उठने बागी उम्मेदवारलाई सहमत गराएर पार्टीलाई दुर्घटनाबाट जोगाउनु पर्दछ ।
कांग्रेसमा ‘केही नपाउने’ कार्यकर्ताको कमी छैन । कांग्रेसका नाममा शासन गर्ने अवसर पाएका सुशील कोइरालादेखि शेरबहादुर देउवासम्म सबैले आ–आफनो भागको दुःख पाएका छन ।
पछिल्लो झमटका नेताहरु कसैले पनि जनताको सेवा गरेका छैनन । तै पनि, कांग्रेसीहरुले सुख पाउने हो भने सबभन्दा पहिले कांग्रेसलाई नै दह्रो बनाउनु पर्दछ । मलाई टिकट दिएनन, हेर्नुहोस कांग्रेस हार्छ भन्ने कार्यकर्ता लोकतान्त्रिक खेलाडी कदापि होइनन् ।
(चुनावमा कांग्रेसको चिन्ता बोकिरहेका वरिष्ठ पत्रकार किशोर नेपालको चिन्तन सामाजिक सञ्जालबाट)