तनहुँ: तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ ।
क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उनले बताए । क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, कार्यालय प्रमुख अधिकारीले भने समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।
सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । “उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।
क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ । क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ ।
कार्यालय प्रमुख अधिकारीका अनुसार छ महिनामा दुई पटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ । क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरिइएको छ ।
घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरुलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो । लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने उनले बताए । अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँ–गाउँ पुगेर सहयोग गरिरहेको छ ।
नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ । नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ ।
४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । –––