वीरेन्द्रनगर : सत्ता गठबन्धनको आगामी रणनीति नेकपा एमालेलाई सत्ता र शक्तिबाट बिदा गरेर एकल रुपमा गठबन्धनकै बर्चश्व जमाउने भन्ने छ ।
यसको प्रभाव सबै ठाउँमा देखिए पनि कर्णालीमा बढी नै देखिएको छ । त्यसखाले जाल कर्णालीमा धेरै बुनिएका छन् । तर, जालमा माछा पर्ने कि नपर्ने अन्तिम परिणाम हेर्न बाँकी रहे पनि त्यसको सिनारी भने अहिलेबाटै दलहरुले देखाइसकेका छन् ।
कर्णालीका दुई जिल्ला बाहेक आठ जिल्लामा गठबन्धन गर्ने निर्णय भइसक्यो । सुर्खेत र रुकुम पश्चिममा भने अन्यौलकै अवस्थामा उम्मेद्वारी दर्ता प्रक्रिया चलिरहेको छ । त्यो पनि आ आफ्नै दलबाट ।
कांग्रेस शीर्ष नेता पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत हो भने रुकुमपश्चिम माओवादीका शीर्ष नेता जनार्दन शर्माको क्षेत्र हो । सबै जिल्लामा कार्यकर्तालाई पेलेरै गठबन्धन गरिए पनि यी दुई जिल्लामा गठबन्धनले उम्मेदवारको टुंगो लगाएको छैन ।
रुकुम पश्चिमका पालिका प्रमखहरुमा माओवादीको दाबी छ भने सुर्खेतका केहीभन्दा धेरै पालिकाहरमा कांग्रेसको दाबी छ । यस्तै एकिकृत समाजवादीको पनि । यसले गर्दा सुर्खेतको गठबन्धन ‘उम्मेदवारको मनोयन दर्ता गर्ने समय’ सकिनै लाग्दा पनि निचोडमा पुगेको छैन ।
कर्णालीका अन्य पालिकाहरुमा पनि पार्टीका नेता कार्यकर्ताको चाहना विपरित गठबन्धन भएको छ । त्यसको लक्षण हुम्ला, जाजरकोट, सल्यान, जुम्ला, कालिकोट लगायतका ठाउँहरुमा देखिसकेको छ ।
आइतबार मात्रै प्रदेशको निर्णयमाथि जाजरकोटमा माओवादी केन्द्रले विरोध जनाएको छ । पत्रकार सम्मेलन गरेर भेरी नगर कमिटीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको छ । पार्टी कार्यकर्ताको अपेक्षा र जनमतको विपरित गठबन्धनलले निर्णय गरेका कारण छुट्टै उम्मेदवारी दिने अवस्थामा पुगेको हो । अन्य पालिकाहरुमा पनि विरोध भइरहेको छ । सल्यानको अवस्था पनि यस्तै छ । कालिकोटको अवस्था पनि यस्तै छ । हुम्लाको अवस्था झन् फरक भयो । चार दिनअघि नै एकीकृत समाजवादी गठबन्धन दलबाट बाहिरिसकेको छ ।
जुम्लामा निर्णय नभए पनि गठबन्धन टुटिसकेको छ । जुम्लाको सन्दर्भमा प्रदेशले समाजवादीलाई एक गाउँपालिकाको प्रमख मात्रै दिएको थियो । तर, समाजवादी जुम्लाले दुई पालिकाको प्रमुख मागेको थियो । त्यो पनि माओवादीको पकट मानिएको तिला गाउँपालिका र हिमा गाउँपालिका मागेको थियो ।
प्रदेशको निर्णय अनुसार, समाजवादीको भागमा तिला मात्रै परेको थियो । कांग्रेसको पनि जुम्लाका चार पालिकामा दाबी थियो । तर, तीन पालिकामा दिने निर्णय भयो । त्यसकारण कांग्रेसले जुम्लामा छुट्टै लड्ने निर्णय गरेको छ । एकीकृत समाजवादी जुम्लामा बाहिरिसकेको छ । यद्यपी एकीकृत समाजवादी कुनैसँग मिलेरै चुनाव लड्ने संकेत गरिसकेको छ ।
कर्णालीका अन्य पालिकाहरुमा पनि विवाद उस्तै छ । उम्मेदवार छुट्टा छुट्टै दर्ता गर्ने निर्णयसम्म पुगिसकेका छन् । जनमत विपरित भयो भन्दै प्रदेशको निर्णय सबै जिल्लामा विरोध भइरहेको छ ।
यसले गर्दा गठबन्धनका नेताले सोचेको भन्दा चुनावमा फरक नतिजा आउने निश्चित भइसकेको छ । कर्णालीमा यसको फाइदा भरपुर रुपमा एमालेले लिन सक्छ । त्यसको लक्षण रुकुम पश्चिमबाट देखिएको छ । कांग्रेस र एमालेबीच गठबन्धनका कुरा पनि बाहिर आइसकेको छ ।
गठबन्धनभित्रैका नेताहरुले यस किसिमको अस्थिर तर अराजनीतिक व्यवहार देखाउन थाल्ने हो भने कार्यकर्ताको मन भाँचिने नै छ । चुनाव जनताको हितभन्दा नेताहरुको खल्तीका कार्यकर्ताका लागि मात्रै भएको महसुस हुनेछ ।
जसले ठूलो अपेक्षा गरिएका नेता पनि आफ्नै जिल्लामा सत्ताधारी सहयात्री होइनन् कि जुँवाको खेल खेलिरहेका नेतामा गनिनेछन् ।