बलेवा : बागलुङ नगरपालिका–३ का ७४ वर्षीय विश्वनाथ रेग्मीलाई धौलागिरी अञ्चल अस्पताल जाँदा लाइनमा बस्नुपर्यो । ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन बस्नु नपर्ने र पालो कुर्नु नपर्ने भनिए पनि अस्पतालका कर्मचारीले अपमान गरेर आफूलाई लाइन बस्न बाध्य पारेको उनको गुनासो थियो।
सवारी साधनमा यात्रा गर्दा ५० प्रतिशत छुटको व्यवस्था भए पनि कसैले कार्यान्वयन नगरेको उल्लेख गर्दै जेष्ठ नागरिक रेग्मीले राज्यले कानुनी व्यवस्था गरे पनि ज्येष्ठ नागरिकका हक तथा अधिकारका लागि सम्बन्धित निकाय संवेदनशील नभएका कारण यस्ता सुविधा उपभोग गर्न नपाइएको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बागलुङमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुले आफूहरु सबैको अपहेलाको पात्र बन्नु परेको गुनासो गरे । उनीहरुले बीमा गरेर उपचार नपाएकोदेखि सार्वजनिक स्थानमा हुने विभेद् र दिवस मनाउन आउने बजेटसमेत नपाउने गरेको सुनाइन् ।
ज्येष्ठ नागरिक सङ्घका सचिव हरिलाल सुवेदीले ज्येष्ठ नागरिकलाई सम्मान हुने कार्यक्रमसमेत नभएको बताए । उनले पालिका तहले जेष्ठ नागरिकका लागि बिनियोजित बजेटबारे जानकारी नदिँदा कतिपय कार्यक्रम गर्न नसकिएको गुनासो गरे ।
“दिवस मनाउने, ज्येष्ठ नागरिकको सम्मान गर्नेजस्ता काममा कति बजेट छ, कति खर्च भयो भनेर सोध्दा पनि कर्मचारीले थर्काउछन्’ सचिव सुवेदीले भने, “हामी समाजका लागि बोझ भयौँ ।”
वार्षिक रु तीन हजार ५०० तिरेर स्वास्थ्य बीमा गराउँदा पनि उपचार नपाइएको भन्दै उक्त नगरपालिकाको वडा नं ३ निवासी विश्वनाथ रेग्मीले सरकारका काम राम्रा भएपनि कारिन्दा खराब भएको बताए । बीमाबाट पाउने सेवा मात्र नभइ ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा पाउनुपर्ने सेवाबाट पनि आफूहरु वञ्चित हुनुपरेको उनको गुनासो थियो । “मैले अहिलेसम्म न गाडी भाडामा छुट पाएँ न बीमा गरेर उपचार सुविधा पाएँ ” रेग्मीले भने, “अधिकारको बारेमा कोरा नारा लगाउनुभन्दा नलगाउनु नै बेस ।”
नागरिक समाजका अगुवा काजी गाउँले श्रेष्ठले कानुनी अधिकारका विषयले जनतामा झगडा हुने गरेको बताए । ग्रामीण क्षेत्रमा बस्नेले त सुविधाबारे जानकारीसमेत नपाएको उनको भनाइ थियो ।
ज्येष्ठ नागरिकका अधिकारका सम्बन्धमा स्थानीय सरकारका नीति, योजना र कार्यक्रम तथा बजेटबारे आयोजित छलफलमा सहभागीले गुनासै गुनासा तेर्साएका थिए ।
आयोगकी ज्येष्ठ नागरिक विभागकी प्रमुख कल्पना नेपाल, मानवअधिकार सङ्गठनकी कोषाध्यक्ष शर्मिला थापा, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली, बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, महिला बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मी, गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाका अध्यक्ष मुक्तिराम सापकोटालगायतले स्थानीय पालिकाले ज्येष्ठ नागरिकको सम्मान, उपचारमा सहयोग, निःशुल्क एम्बुलेन्सजस्ता कार्यमा सहयोग उपलब्ध गराइएको जानकारी दिए ।
उनीहरुले अधिकार पाउने क्रममा केहीबाट अवरोध भएमा कारबाही भोग्नुपर्ने भन्दै राज्यका सेवा प्रवाहमा कर्मचारी वा अन्य कसैले पनि रोक लगाउन नमिल्ने सुझाए ।