मुगुको खत्याड / फोटो : वीरेन इरागन
वीरेन्द्रनगर : ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ विश्व औंलो दिवस विभिन्न कार्यक्रम गरी बनाइएको छ । देशभर यो दिवस मनाउने क्रममा कर्णालीमा पनि मनाइएको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक कार्यक्रम आयोजना गरेर मनाइएको हो ।
लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग औंलोको उच्च जोखिममा कर्णाली पनि रहेको बताइएको छ । हुम्लाको ताजाकोट गाउँपालिकाका वडा नम्बर २, ३ र ४ नम्बर, मुगुको खत्याड गाउँपालिकाको वडा नम्बर ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नम्बर २ औँलो रोगको उच्च जोखिममा रहेको स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यले जानकारी दिए ।
उनले भने – ‘मध्यम जोखिममा कर्णालीका १५ वडा रहेका छन् । हुम्लाको अदानचुली नम्बर २ र ५, चंखेली वडा नम्बर २, सर्केगाड वडा नम्बर २, ताजाकोट नम्बर २, सुर्खेतको भेरिगंगा ७, वीनपा १०, गुर्भाकोटको वडा नम्बर १३, लेकबेशीको ७ र १०, पञ्चपुरीको वडा नम्बर ९ रहेका छन् ।’
२०७८ र ०७९ मा कर्णालीमा ३२ जनामा औंलो देखिएको आचार्यले जानकारी दिए । यसबाट जोगिन झुल प्रयोग गर्न चिकित्सकले बताएका छन् ।
मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन् । यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ।
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नु पर्छ।
औलो लाग्ने क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूका लागि यसबाट बचाउने धेरै प्रकारका औषधिहरू उपलब्ध छन्। औलोको उच्च जोखिममा रहेका ठाउँहरूमा शिशुहरू तथा गर्भावस्थाको पहिलो चरण पार गरेका गर्भवती महिलाहरूलाई सल्फाडोक्सिन वा पाइरिमेथामाइन जस्ता औषधि सिफारिस गरिएको छ।