खलंगा : मंगलबार दिउँसो १२ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार जाजरकोटमा १२ सय ७९ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार, जाजरकोटमा नगरपालिकाको प्रमुखमा १५ जनाले मनोनयन दर्ता गराएका छन् भने गाउँपालिका अध्यक्षमा १९ जनाले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै नगरपालिका उप–प्रमुखमा १२ जनाको मनोनयन दर्ता भएको छ भने गाउँपालिका उपाध्यक्षमा १८ जनाको मनोनयन दर्ता भएको हो । ३ सय ३ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने महिला सदस्यमा २ सय २१ जना, दलित महिला सदस्यमा २ सय ४ जना, अन्य सदस्यमा ४ सय ८७ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटमा सात वटा स्थानीय तह हुन् । जसमा ३ नगरपालिका छन् भने ४ गाउँपालिका छन् ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।