वीरेन्द्रनगर : तपाईले बुझेको राजनीति के हो ? कस्तो व्यक्तिले राजनीति गर्छ ? थोरै पढेलेखेको मानिसले गरेको राजनीति र अन्धभक्त कार्यकर्ता तथा पैँसावालले गरेको राजनीति बुझ्नु भएको छ ? छ भने थप बुझ्दै गर्नुहोला । तर यतिबेला कर्णालीमा राजनीतिका नाममा ‘ग्राउण्ड जिरो’को राजनीतिक छवि र पृष्ठभूमि नै छिया छिया गर्ने काम भइरहेको छ ।
संघीयता सुरु भएको दोस्रो कार्यकालका लागि बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । कर्णालीमा यो चुनावको सरगर्मी केवल एउटा माहोलमा सीमित छैन । यो त चुनावको नाममा नेता तथा कार्यकर्ताको झुटको खेती, नागरिकको आशा र निराशा पनि एउटा विन्दु हो ।
शैक्षिक र आर्थिक रिपोर्टले देखाएको सत्य के हो भने कर्णाली सबैभन्दा गरीब प्रदेश हो । स्थानीय तहको गठन र निर्वाचित जनप्रतिनिधिले त्यो गरिबी घटाउने वा हटाउने मूल दायित्व बोकिरहेका थिए । तर पाँच वर्षको राजनीतिक अवस्थाले भन्छ, उनीहरु आफू केन्द्रित विकासमा लागे । पूर्वाधारका नाममा सडक र विद्युतको विकासमा लागे ।
तर गरीबी हटाउने मूल कुरा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नेतर्फ उनीहरुको ध्यान गएन । यसले कर्णालीमा सबैभन्दा बढी असर गरेको छ । कुनै स्पष्ट भिजन नबोकी आफ्नो स्वार्थको पुलिन्दा बोकेरका दलका नेता स्थानीय तहको चुनाव लडिरहेका छन् ।
चुनावी नारामा केवल फुस्रा प्रतिबद्धता छन् । यो गर्छु वा त्यो गर्छु भन्ने केवल गफ मात्रै छ । वास्तविकतामा उनीहरु कस्तो योजना बनाउने ? कस्तो काम गर्ने, नागरिकका समस्या कसरी समाधान गर्ने भन्नेमा उनीहरुको जोडबल देखिदैन । त्यसैले पहिलो कार्यकालले स्थानीय तहबाट नागरिकका आधारभूत आवश्यकता सम्बोधन नभएपनि प्रशासनिक काममा केही सहजता मिलेको छ ।
गुनासो राख्ने एउटा ठाउँ पाइएको छ । तर त्यो नै अन्तिम प्राप्ति होइन । लगभग निजी प्रणालीमा गइसकेको शिक्षा र सचेतनामुखी स्वास्थ्य अधिकार सुनिश्चित नभएसम्म कर्णालीको गरीबी हट्ने देखिदैन ।
चलखेल गर्नेलाई टिकट
देशैभरजस्तै गरि यस वर्षको चुनावमा कर्णालीमा पैँसाको चलखेल गर्नेलाई पहिलो रोजाईमा टिकट वितरण गरिएको छ । पैँसा भएको, चलखेल गर्न सक्ने र एजेन्डाभन्दा पैँसाकै बलमा चुनाव जित्न सक्नेलाई दलहरुले टिकट वितरण गर्नु आफैमा ठूलो संकट हो ।
त्यसमा पनि शक्ति केन्द्रका आफन्त र नेताहरुलाई चुनावको टिकट बाड्ने प्रवृत्तिले पनि कर्णालीमा शासकीय छनक आउन बाँकी छ । यसले अहिले पनि विकासका लागि सबैभन्दा ठूलो भोक बोकेको कर्णालीको विकासमा शीर्ष नेताहरु नै चिन्तित छैनन् ।
उनीहरु आफ्ना स्वार्थमा केन्द्रित देखिएका छन् । चुनावको टिकट बाड्दै गर्दा नेपाली कांग्रेसले संस्थापन गुटका उम्मेद्वारलाई मात्रै जनप्रतिनिधि हुने टिकट दियो । संस्थापन इतर पक्षलाई सकेसम्म पन्छाउने काम गर्यो । जुन प्रजातान्त्रिक पार्टीको सबैभन्दा गैरप्रजातान्त्रिक काम हो ।
सामान्य कर्णालीको राजनीति सुर्खेत र त्यसको केन्द्र वीरेन्द्रनगर नगरपालिकामा पनि आश गरिएको नेता उम्मेद्वार हुन सकेन । एमालेले केही अनुभव बटुलेकी मोहनमाया ढकाललाई मेयरको उम्मेद्वार बनाएपनि कांग्रेस र माओवादीले भने पैँसा, पावर र राजनीतिक भर्ती केन्द्रका रुपमा वीरेन्द्रनगर नगरपालिकामा मेयरको टिकट दिएको छ ।
यस्तो अवस्थामा गएको पाँच वर्ष राम्रा नेता मानिएपनि देवकुमार सुवेदीले कुनै एैतिहासिक काम गर्न सकेनन् । उनी वीरेन्द्रनगरलाई उपमहानगरपालिका हुँदै महानगरपालिका बनाउने अवसरलाई डस्बिनमा फालेर बिदा हुँदैछन् । मेयरका प्रतिष्पर्धीको सूचि हेर्दा अझै पाँच वर्ष वीरेन्द्रनगर केवल एउटा राजनीतिक भर्ती केन्द्र मात्रै बन्नेछ । कर्णालीलाई नेपालकै एउटा प्रमुख पर्यटकीय नगर बनाउने सपना कम्तीमा यही प्रवृत्तिले सम्भव हुँदैन ।
सुर्खेतका अरु पालिकामा पनि पाउनुपर्नेले भन्दा पैँसा र पावर भएकाले टिकट पाएका छन् । यसमा माओवादी केही एजेन्डामा अडिग रहेर टिकट बाड्न सफल भएपनि कांग्रेस र एमाले भने चलखेलमै लागेको देखिएको छ । जसको हिसाबकिताब बैशाख ३० मा हुने नै छ
गठबन्धनको धाक जमाएका कर्णालीका नेताहरुले अरु ठाउँ जित्ने नाममा सुर्खेत र रुकुम पश्चिममै ठूलो आत्मघात गरे । पार्टीमा राजनीतिभन्दा स्वार्थ हावी भएका नेताहरुका कारण कर्णालीको राजनीति गरीबी हटाउन होइन, आफू धनी भएर जनतालाई गरीब बनाइरहन लालयित छ ।
अहिले पनि रेमिट्यान्सका भरमा जनता बाँचिरहदा त्यसको सामान्य मूल्यांकलन पनि नगर्ने हो भने कर्णाली अझै ठूलो महंगी र गरीबीको चपेटामा भासिनेछ । एउटै उम्मेद्वारले कम्तीमा गाउँपालिकामा करोडभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ । यसले ढिलोचाँडो कर्णालीमा विकास होइन, जनताको आधारभूत आवश्यकतालाई पैँसाको बिटोमा राखेर नेताहरुको धनी बन्ने सपना मात्रै पूरा हुँदैछ ।