सुर्खेत : तत्कालीन नेकपा माओवादीले जनयुद्ध लड्यो । नयाँ संविधान, संघीयता र गणतन्त्रका लागि माओवादीले जनयुद्ध लडिरहदा लड्दा क्रान्तिको बिगूल फुक्ने युवा थिए, विवश । जसको पुरा नाम थाहा पाउन माओवादी शान्ति सम्झौतामार्फत संसदीय राजनीतिमा आउनुपर्यो ।
जो विवशकै नामले चिनिए । पश्चिम सुर्खेत स्थायी घर भएका विवशको वास्तविक नाम खड्क बास्पाने विक हो । तर उनी आफ्नो माओवादीकै वैकल्पिक नामले चिनिए । आधारभूत आवश्यकता पूरा गर्नै धौ धौ हुने युवा जो राजनीतिमा लागेर आमूल परिवर्तनको पक्षमा उभिए ।
त्यसरी उभिँदा उनी पार्टी पंक्तिबाट सँधै किनारामा परिरहेका व्यक्ति पनि हुन् । माओवादी २०६४ सालको चुनावबाट शान्ति प्रक्रियामा आउँदा उनी जिल्लास्तरको नेता भए । तर नेता भएर पनि नेतृत्वबाट उनी कार्यकर्तामै सीमित रहे । झण्डै १० वर्ष उनी नेता बन्ने प्रयासमा लागिरहेका हुन् । जो पश्चिम सुर्खेतमा जनतामाझ रुचाइएका छन् ।
खासगरि समाजको पीधमा रहेको दलित समुदाय, गरिब वर्ग, आदिवासी र जनजातिको सेवक भएर काम गरे । पश्चिम सुर्खेत अर्थात चौकुनेमा दलित समुदायको बाहुल्यता छ । तर त्यो बाहुल्य भएको समूदायले अहिले पनि आफ्नो समस्या र वास्तविक पीडा बुझ्ने नेता नपाएको गुनासो पटक पटक उठिरहेकै हो ।
त्यही पीडामा मलम लगाउन पनि यतिबेला चौकुनेमा माओवादीबाट अध्यक्षका उम्मेद्वार बनेका छन्, विवश । जसलाई यतिबेला सत्ता गठबन्धनले साझा उम्मेद्वारकै रुपमा अघि सारेको छ । नेपाली कांग्रेस र समाजवादीले पनि विवशलाई गठबन्धनको साझा उम्मेद्वारका रुपमा बुझेका छन् । जो २०७४ सालमै अध्यक्षको उम्मेद्वार बनेपनि पराजित हुन पुगेका थिए ।
१. गठबन्धनबाट कांग्रेस र समाजवादीको साथ
केन्द्रमा जस्तै कर्णालीमा पनि सत्तारुढ दलको गठबन्धनको भयो । तर अरु ८ जिल्लामा गठबन्धन भएको भनिएपनि सुर्खेत र रुकुम पश्चिममा भने नेताहरुकै स्वार्थका कारण त्यो सम्भव हुन सकेन । यद्यपी, केही पालिकामा भने कांग्रेस र माओवादीबीच ढिलै भएपनि तालमेल भयो ।
त्यसमा वीरेन्द्रनगर र चौकुने एक हुन् । जहाँ माओवादीले चौकुनेमा अध्यक्षको भाग पाउँदा वीरेन्द्रनगर नगरपालिकामा भने उपमेयरको अवसर पायो । सुर्खेतमा तालमेल प्रभावकारी नबनेपनि चौकुनेमा भने धेरैजसो युवा र राजनीतिज्ञ विवशको पक्षमा उभिएका छन् ।
दलित समूदायबाट प्रतिनिधित्व गर्ने उनले महत्वपूर्ण घडीमा गठबन्धनको साथ पाएका हुन् । यद्यपी दलका नेताहरुबीच तालमेलका विषयमा भएका थुप्रै बैठकमा चौकुनेकै कारण कुरा मिलेको थिएन । जहाँ समाजवादीले पनि आफ्नो हिस्सा कायम गरेको थियो ।
चौकुनेमा समाजवादीबाट अध्यक्षको दाबी जिल्ला अध्यक्ष मोहन बडुवालले राखेका थिए । तर माओवादीले छाड्न नमानेपछि अन्ततः कांग्रेसले पनि साथ दिने बचन दिएपछि विवशको मनोबल बढेको देखिन्छ । कांग्रेसले उपाध्यक्षमा नरबहादुर बान्तावालाई उठाएको छ ।
२०७४ सालको चुनावमा आफ्नै पार्टीका नेताहरुले राम्ररी साथ नदिँदा विवशले चुनाव हार्नुपरेको यतार्थ थियो । तर अहिले माओवादीसँगै कांग्रेस र समाजवादीको साथ, समर्थन र भरोसा पाएपछि उनले जित्न सक्ने आधार बनाएका छन् । तर साथ दिन्छु भनेका गठन्धनका नेताहरुले कति इमान्दार रुपमा आफ्नो दायित्व निर्वाह गर्छन् ? त्यसमा पनि विवशको जितको आधार मापन हुनेछ ।
एमालेबाट हरि अधिकारी बलिया उम्मेद्वार भएपनि गठबन्धनबाट साथ पाएका विवशले आफ्नो धरातल बलियो बनाएको देखिन्छ ।
२. बाहुल्य दलित समूदायको निर्णायक भोट
चौकुनेमा विगतका वर्षमा पनि संविधानसभा र प्रतिनिधिसभा चुनाव हुँदा निर्णायक हुने भनेकै दलित समूदायको भोट हो । सबै पार्टीले आ आफ्ना कार्यकर्ताबाट भोट बटुलेपनि दलित समूदायको मन जितेर भोट पाए मात्रै आफ्नो उम्मेद्वारीलाई जितमा परिणत गर्ने गरेका थिए ।
विगतमा उम्मेद्वार नै पाउन गाह्रो हुने चौकुनेमा यसपटक बलिया उम्मेद्वारका रुपमा विवश उभिएका छन् । गएको वर्ष प्रत्यासीमा सीमित रहेका विवशलाई यसपटक आफ्नै कमजोरीको मूल्यांकन गरेर दलित समूदायको सबै भोट बटुल्नुपर्ने चुनौति छ ।
यस्तोमा धेरैजसो दलित समूदायका नेताहरु भारतबाट समेत मतदान गर्न आउने क्रम जारी छ । सँधै अरु नेताहरुलाई जिताउँदै आएका दलित समूदाय यतिबेला आफ्नै समुदायको नेतृत्व स्थापित गर्ने योजना छन् । यदि सबै दलित समूदायको यो माग र आवश्यकता हो भने त्यसलाई विजयमा परिणत गर्न सक्ने ऐतिहासिक अवसर विवशसामु छ । यसले पनि उनलाई आफ्नो उम्मेद्वारी जितमा परिणत गर्न सक्ने आधार छ ।
पार्टीभन्दा व्यक्ति र सच्चा उम्मेद्वारलाई जिताउने आधार खोज्ने हो भने दलित समूदाय यतिबेला प्रलोभनमा नपर्दा विवशले विजयको झण्डा उठाउन सक्छन् । तर उनलाई एमालेका उम्मेद्वार हरि अधिकारीले कडा टक्कर दिने पक्कापक्की छ ।
३. ग्राउण्ड जिरो पोलिटिक्सको अनुभव
चौकुनेमा विवश एक्ला नेता हुन्, जो सादगी छन् । एकदम सरल र सामान्य जीवनयाापन गरेर पनि आदर्श राजनीति अंगालिरहेका छन् । उनको यो सादगीपन आदर्श राजनीतिलाई मतदाताले सम्मान गर्ने हो भने उनको सम्भावना झन् बढ्ने देखिन्छ ।
पछिल्लो समय नेताहरु चुनाव जितेपछि आफ्नो व्यक्तिगत सम्पति कमाउन लाग्ने प्रवृत्तिका कारण पनि विवश जनताको सेवक बन्ने अवसर सदूपयोग गर्न सक्छन् । व्यक्तिगतभन्दा सामूहिक निर्णयलाई सम्मान गर्ने उनको स्वभावले पनि यतिबेला निर्वाचनमा असर गर्न सक्छ ।
४. आदर्शलाई यतार्थमा परिणत गर्न अवसर
२०७४ सालको चुनावमा चौकुनेमा एमालेका धीरबहादुर शाहीले जित हासिल गरे । उनी सक्षम युवा नेताका रुपमा गनिएका थिए । चार पाँच वर्षको चौकुनेको नेतृत्वमा बस्दा उनले आफ्नो सरल, सादगीपन, आदर्श राजनीतिक छवि भने कायम गर्न सकेनन् ।
जसकारण सबैले आश गरेको नेतृत्वबाट पनि नागरिक सन्तुष्ट हुन नसकेको परिदृश्य चौकुनेमा छ । शाहीबाट चौकुनेका एमाले नेता तथा कार्यकर्ता नै असन्तुष्ट छन् । अहिले त्यही चुनौति हरि अधिकारीलाई छ । स्पष्ट वक्ता र खरो स्वभावका अधिकारीलाई पाँच वर्ष एमालेले गरेको कामलाई मूल्यांकन गर्दा जवाफ दिन चुनौति छ ।
कैयौँ विकासका सम्भावना हुँदाहुँदै पनि एमालेका सबै नेताले त्यसलाई आत्मसात गर्न नसकेको दृष्टान्त अगाडि छ । यस्तो अवस्थामा चौकुनेका जनता, गरिबी, विभेद, समस्या र पूर्वाधारका हिसाबले सबैभन्दा पछि परेको भूगोललाई आफ्नो साधारण र आदर्श राजनीतिलाई वास्तविकतामा परिणत गर्न अवसर विवशसामू देखिन्छ ।
कांग्रेस र एमालेभन्दा चौकुने माओवादीकै पकड क्षेत्रका रुपमा पनि चिनिन्छ । चौकुनेको बहुसंख्यक जनताको गरिबी र समस्यालाई राम्रोसँग बुझेका र त्यसलाई समाधान गर्न सक्ने ल्याकत पनि विवशले राख्न सक्ने माओवादीकै नेताहरुको बुझाई छ ।
भलै त्यसलाई उनले जितमा परिणत गर्न सक्छन् वा सक्दैनन्, त्यो हेर्न बाँकी छ ।
‘गाउँबाट आएको, भोकै लडेको, भोकै पढेको र भोकैभोकै पनि राजनीति गरिरहेको मान्छे हुँ भन्दा फरक पर्दैन,’ माओवादीबाट अध्यक्षको टिकट पाएलगत्तै कर्णालीखबरसँगको भेटमा उनले सुनाएका थिए, ‘चौकुनेका जनताको सेवक बन्ने धोको छ । पसिना बगाएको छु । जनताले अनुमोदन गर्छन भन्ने आशा छ । सायद यसपटक आशा उत्साह र विजयमा परिणत हुन्छ भन्ने विश्वास पनि छ ।’
तर एमालेबाट हरि अधिकारीको बलियो उम्मेद्वारीलाई ‘प्रतिगमनको प्रतिनिधित्व’ मात्रै ठान्नु चौकुनेमा माओवादी र गठबन्धनकै भूल हुन सक्छ । विवशजत्तिकै चौकुनेमा अधिकारीको पनि लामो राजनीतिक अनुभव छ । जसले गठबन्धनबाट असन्तुष्ट पक्षको फाइदा लिँदै जित आफ्नो पोल्टामा पार्न सक्ने सम्भावना छ ।
तर दलित समूदायको बाहुल्यता र माओवादीको आधार इलाकालाई भत्काउन एमालेलाई सहज भने छैन । त्यसमाथि अहिलेको चौकुने नेतृत्वबाट धेरै कुराको असन्तुष्टि झन् झन् पोखिदो छ । जसको परिवर्तन स्वयंम मतदाताले चाहेका देखिन्छन् ।