सुर्खेत : संघीयता लागू भएकै पहिलो कार्यकालमा पश्चिम सुर्खेतको खास नेतृत्व नेकपा एमालेले पायो । गणतन्त्र आएको कैयौँ वर्षसम्म पनि बाटो समेत नपुगेको चौकुनेमा संघीयतापछिको पहिलो स्थानीय तहको नेतृत्व एमालेले पाएको हो ।
घाटगाउँका धीरबहादुर शाही अध्यक्षमा निर्वाचित भए । उनले माओवादीकै त्यतिबेलाका अध्यक्षका उम्मेद्वार खड्ग विश्वकर्मा विवशलाई हराएका थिए । उनले पाँच वर्षे कार्यकाल सकेर यतिबेला घर फर्किने बेलामा छन् ।
उनको पाँच वर्षे कार्यकाल यतिबेला समीक्षाको संगीन घडीमा छ । जसको समीक्षा आम मतदाताले बैशाख ३० गतेको स्थानीय तहको चुनावमा गर्लान । तर सत्तापक्ष र प्रतिपक्षी दलबाट तय गरिएका उम्मेद्वारकै चर्चा र चुनावी प्रचारका क्रममा पनि उनको कार्यकालको समीक्षा चलिरहेको छ ।
एक हिसाबले भन्ने हो भने उनले चौकुनेमा एमालेको विजयी झण्डा गाडेका हुन् । पश्चिम सुर्खेतको नेतृत्व गर्नु सामान्य विषय थिएन । यस्तोमा धीरबहादुर शाहीले चौकुने गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाए । व्यक्तिका रुपमा उनको नाम आएपनि समग्रमा त्यो पार्टीको जित थियो ।
त्यतिबेला अहिलेजसरी स्थानीय तहको चुनावमा गठबन्धन थिए । जसकारण उनले माओवादीकै पकड भएपनि एमालेबाट चुनाव जित्न सफल भए । उनलाई चुनाव जिताउन माओवादीकै केही नेताले सक्रिय भूमिका खेलेका थिए ।
माओवादी नेताहरुको क्रस भोटका कारण धीर शाहीले चुनाव जितेर चौकुनेमा विरासत बनाएका हुन् । अब यो विरासत जोगाउने जिम्मा हरि अधिकारीको काँधमा आएको छ । नेकपा एमालेले उनलाई चौकुनेको अध्यक्षको टिकट दिएको छ ।
टिकट पाएपछि उनी आफ्नो जितको सम्भावना सुनिश्चित रहेको भन्दै प्रचारप्रसारमा व्यस्त छन् । एमालेले जितेको पालिका भएका कारण स्वभाविक रुपमा विरासत छ । उनको जित्ने आधार भनेकै विरासत जोगाउने विषय हो ।
पालिका भनेको खास कार्यकर्ताको गठजोड हो । घर घरै कार्यकर्ताले बनेको आधार नै नेतृत्वको विजयी हुने सम्भावना हो । त्यसमाथि पहिलो कार्यकालमा नै एमालेबाट जितेका कारण पनि हरेक सत्ताको सदुपयोग गर्नु उम्मेद्वारको दायित्व हो ।
पाँच वर्षमा घरदैलोमा सिंहदरबार पुर्याएका धीरबहादुुर शाहीले आफ्नो पार्टीका लागि कति काम गरेका छन् भन्ने पनि हरि अधिकारीले विजयले पुष्टि गर्नेछ । तर त्यतिबेलाजस्तो सहज भने अहिले छैन । त्यतिबेला केही माओवादीकै नेता, कांग्रेसका पनि केही नेता र एकढिक्का एमालेको पूरा पसिना बगाएर धीरबहादुर शाहीले चौकुनेको नेतृत्व पाएका थिए । तर अहिले अवस्था फरक छ । एमाले पार्टी फुटेको छ ।
सुर्खेतमा सबैभन्दा ठूलो असर एमाले फुट्दा चौकुनेमा परेको जगजाहेर छ ।
निर्णायक मोहन बडुवाल फ्याक्टर
बौद्धिकताको हिसाब गर्दा हरि अधिकारी पुरै सुर्खेतमै आफ्नो परिचय बनाएका नेता हुन् । असल शासन क्लबदेखि नै युवा र जनतामाझ थुप्रैपटक अन्तरक्रिया गर्ने मौका पाएका उनी स्वच्छ बहस, खरो टिप्पणी र निर्धक्क बोल्ने नेताका रुपमा चिनिन्छन् ।
एमालेमा सक्रिय राजनीति गर्दा उनी युवाका हिसाबले बढी परिचित रहे । तर सुर्खेतमा पनि पश्चिम सुर्खेत सँधै पछाडि पर्ने कारणले उनी निर्णायक नेतृत्वमा पुग्न सकेनन् । यतिबेला जिल्लामा होइन, वर्षौ उकाली ओराली गरेको चौकुनेमा अध्यक्ष पदको उम्मेद्वार छन् ।
यति महत्वपूर्ण अवसर उनको सामू आउँदा चारैतिर चुनौतिले पनि उनी घेरिएका छन् । २०७४ सालको चुनावमा एमालेका उम्मेद्वार धीरबहादुर शाहीलाई जिताउने एकल लहर यतिबेला चौकुनेमा छैन । सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै मोहन बडुवाल फ्याक्टर हो ।
जो चौकुनेमा सबैभन्दा धेरै लोकप्रिय नेतामा पर्छन । उनको लोकप्रियता केवल व्यक्तित्वमा मात्रै छैन । विचार, सिद्धान्त, सरल स्वभाव, सहज भेटघाट र हरेक कार्यकर्तासँग जोडिएर उनीहरुको सेवा गर्न रुचाउने नेता हुन् ।
हरि अधिकारीका लागि अहिले सबैभन्दा ठूलो विडम्बना भनेकै मोहन बडुवाल फ्याक्टर अलग छ । एमाले फुटेपछि समाजवादीमा लागेका मोहन बडुवालले चौकुनेमा आफ्नो संगठन पनि बनाएका छन् । जुन संगठन अहिले गठबन्धनसँग जोडिएको छ । र, केही वडामा जित्ने गरि उम्मेद्वारी पनि दर्ता गराएको छ ।
यस्तोमा मोहन बडुवाल आफैँ संगठनलाई जोगाउन र जिताउन पनि गठबन्धनको सहारामा छन् । जसको सिधा फाइदा माओवादीलाई हुन सक्छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पार्टी फुटाउने निर्णयमा पुगेको माधव नेपाल पक्षका कट्टर नेता बडुवाल यतिबेला चौकुनेमा ‘प्रतिगमनलाई पराजित’ गर्न लागिपरेका छन् ।
उसो त एमालेविरुद्ध देशैभर सत्ता गठबन्धन चुनावी मैदानमा छ । चौकुनेमा पनि त्यो परिदृश्य सहजै देखिन्छ । यति गम्भीर घडीमा पनि हरि अधिकारी चौकुनेमा एमालेको विरासत जोगाउने अभियानमा छन् । एमालेको चुस्त संगठनका उनको जितको आधार हो ।
त्यसमाथि कर्णालीका टावर लिडर यामलाल कँडेल, नवराज रावत जस्ता नेताहरु उनलाई जिताउन चौकुनेका चुनावी सभामा देखिएका छन् । यो प्रचार प्रसार र प्रभावले नै हरि अधिकारी चौकुनेमा एमालेको विरासत जोगाउन सक्षम छन् वा छैनन् ? बैशाख ३० गतेको नतिजाले देखाउँनेछ ।