सुर्खेत : वर्षौपछि कालिकोटमा एकैदिन माओवादीका दुई शक्तिशाली नेता चुनावी सभामा देखिएका छन् । यद्यपी, दुवैले फरक फरक चुनावी सभालाई सम्बोधन गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार नै कालिकोट जाने कार्यक्रम थियो । तर उनी गएनन् ।
सोमबार मात्रै कालिकोटको पलाता गाउँपालिकामा प्रचण्डले चुनावी सभालाई सम्बोधन गरेका हुन् । यता कालिकोटकै रास्कोटमा पनि विप्लवनिकट नेकपाका प्रवक्ता तथा नेता खड्ग विश्वकर्मा प्रकाण्डले पनि चुनावी सभालाई सम्बोधन गरेका छन् ।
दुवैको चुनावी सभा माओवादी केन्द्रित थियो । कालिकोट नेपालको कान्छो जिल्लाका रुपमा परिचित छ । तर हिजोआज कालिकोट कान्छो जिल्ला होइन, माओवादीको एउटा मात्रै आधार इलाका भएको जिल्ला हो । रुकुम पश्चिमपछि माओवादीको प्रभाव रहेको जिल्लाका रुपमा कालिकोट छ ।
त्यही कालिकोटमा सोमबार हतार हतार हेलिकोप्टरमा पुगेका प्रचण्डले चुनावी सभालाई सम्बोधन गरेका हुन् । प्रचण्ड यसरी जानुका पछाडि कालिकोटमा अहिले पनि सबैभन्दा ठूलो प्रभाव प्रकाण्डको हो । प्रकाण्डले स्थानीय तहको चुनावलाई उपयोग गर्न आफ्ना उम्मेद्वार खटाएका छन् ।
उनीहरुलाई जिताउन प्रकाण्ड आफैले भोट मागिरहेका छन् । त्यसले गर्दा आफ्ना उम्मेद्वार हार्ने अवस्था आएपछि कर्णालीका नेताहरुले नै प्रचण्डलाई बोलाएर चुनावी सभालाई सम्बोधन गर्न लगाएका हुन् ।
हेलिकोप्टरमा कैलालीबाट कालिकोट पुगेका प्रचण्ड चुनावी सभालाई सम्बोधन गरेपछि बैतडी गएका थिए । प्रकाण्ड भने चुनाव अवधिभर कालिकोटमै बसिरहेका छन् । पार्टी नै तहसनहस पारेर स्थानीय तहको चुनावमा उम्मेद्वारी दिन लगाएका प्रकाण्ड जसरी पनि चुनाव जित्नुपर्ने दबाबमा छन् । तर त्यसबाट माओवादी केन्द्रका नेताहरु भने त्रसित छन् ।
पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्ला भएपनि वैचारिक र राजनीतिक रणनीति उनीसँग बलियो छैन । राजनीतिक रणनीतिकारका रुपमा प्रकाण्ड धेरै अघि छन् । जसकारण यतिबेला आफ्नो पकड फुत्किन नदिन प्रचण्ड अचानक कालिकोट पुगे । तर पार्टी नै फुटाएर चुनावमा लागेका प्रकाण्ड पनि कालिकोट नछाड्नुले यसपटक कालिकोटमा माओवादीबीचकै लडाई रोचक हुने पक्कापक्की छ ।
माओवादी नफुट्नुअघिसम्म प्रकाण्ड प्रचण्डका निकट र विश्वासिला नेता थिए । तर माओवादी फुटेपछि प्रकाण्ड मोहन वैद्य हुँदै विप्लवको पार्टीमा पुगेर प्रवक्ता बनेका थिए ।