खलंगा : जुम्लाको चन्दननाथ नगरपालिकामा दलिय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । ३० गते हुने निर्वाचन सबै चन्दननाथमा पनि रोमाञ्चक हुने भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादीले जितेका थिए ।
यस पटक नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । नेपाली कांग्रेसका बलिया नेता राजुसिंह कठायतले नगरप्रमुखको टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर मैदानमा आएका छन् ।
कठायतलाई नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपा पाटीको पनि समर्थन छ । जसमा समाजवादीले नगरप्रमुख पदमा उठाएका जयलक्ष्मी चौलागाईलाई उम्मेदवार फिर्ता लिन लगाएको थियो भने राप्रपाका पूर्णसिंह कठायतले आफ्नो फिर्ता लिएर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाई नगरप्रमुखको उम्मेदवार समर्थन गरिसकेका छन् ।
त्यस्तै यता नेकपा एकिकृत समाजवादीका नगर उपप्रमुखका उम्मेदवार भिम थापालाई स्वतन्त्र उम्मेदवार कठायत र राप्रपाले समर्थन गरेर चुनावी गठवन्धन गरिइको छ ।
त्यस्तै अघिल्लो निर्वाचनमा नगरपालिकामा नगरप्रमुख जित्न सफल नेपाली कांग्रेसले भने यस पटक नगरप्रमुखमा पदमबहादुर शाही र नगरउपप्रमुखमा रामदेवी खड्कालाई उम्मेदवार बनाएका छन् ।
यस्तै माओवादीले यूवा नेता जीवनबहादुर बुढ्थापालाई नगरप्रमुखमा र नगर उपप्रमुखमा पूर्णिमा विक (रचना)लाई उम्मेदवार बनाएको छ । स्वतन्त्र नगरप्रमुखका उम्मेदवार कठायत जुम्ला सदरमुकामको मुटुमा रहेको वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् ।
उनी लामो समय निर्माण व्यवसायी क्षेत्रमा काम गर्दै कांगेस पाटीको राजनिति छिरेका थिए । उनलाई २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस जुम्लाले नगरप्रमुखको टिकट दिने निर्णय गरेको थियो तर केन्द्रले कान्तिका सेजुवालको नाममा टिकट पठाएपछि कठायत पक्षले त्यसबेला पनि पार्टी सभापति शेरबहादुर देउवाको समेत पुत्ला दहन गरेका थिए ।
तर कठायतले सेजुवाललाई समर्थन गरेपछि मेयर कांग्रेसले जितेको पनि थियो । त्यस्तै राजुसिंह कठायतलाई भने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा (क)को उम्मेदवार बनाएको थियो ।
तर प्रदेशसभा निर्वाचनमा माओवादीका बलिया नेता नरेश भण्डारीसँग उनी पराजित भएका छन् । जुम्लामा तत्कालिन समयमा संसदीय निर्वाचनमा माओवादी एमालेको गठवन्धन र अर्को माओवादी जुम्लामा बलियो भएकाले कठायत पराजित भएका हुन् ।
अहिले कांग्रेसले आफुलाई टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा एकिकृत समाजवादी र राप्रपाको साथमा मैदानमा उत्रिएका कठायतले नेपाली कांग्रेसलाई केही धक्का हुने अनुमान गरिएको छ ।
कांग्रेसबाट मात्रै होइन अन्य पार्टीका पनि केही मत कठायतले लिने यसमा पनि समाजवादीको साथ पाएपछि दलिय उमेदवारलाई स्वतन्त्र उम्मेदवारको कडा टक्कर हुने देखिएको छ ।
त्यस्तै नेकपा एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा ३ वडा नगरपालिकाका जित हासिल गरेको थियो । एमालेले जित हात पारेका नगरपालिकाका वडा नम्बर ६, ७ र ८ अहिले नेकपा एकिकृत समाजवादी पार्टी तर्फलागेकाले ऐमाले भन्दा समाजबादी बलियो भएको दावी गर्दै आएको छ ।
जुम्लाका केही बिज्ञहरुका अनुसार, कठायतले पाँचसय मत मात्रै नेपाली कांग्रेसका काटेमा कांग्रेसलाई चुनाव जित्न मुस्किल छ । यस्तै केही माओवादीका मत पनि काट्न सक्ने मतदाताहरुको अनुमान छ ।
नेपाली कांग्रेस र माओवादीले भने नगरपालिकामा आफ्नो विजयी हुने दाबी गरेको छ । नेपाली कांगेस नगरप्रमुखका उम्मेदवार पदमबहादुर शाहीले पार्टीका मत कतै नजाने र कांग्रेसले चन्दननाथमा फेरी जित्ने दाबी गरे ।
नेकपा माओवादीका नगरप्रमुख उम्मेदवार जीवन बुढ्थापाले कांग्रेस दुई भागमा विभाजन भएकाले अहिले माओवादीको जित हासिल हुने बताए ।
जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कसले जित्ने जित हुन्छ भन्ने बहस बनेको छ । तर बलिया देखिएका कांग्रेस माओवादीलाई स्वतन्त्र उम्मेदार कठायतले टक्कर दिन थालेका छन् ।