सुर्खेत : कर्णालीको स्थानीय तहको चुनावी चर्चा चल्दै गर्दा सबैभन्दा बढी शक्तिकेन्द्रित क्षेत्र हो, सुर्खेतको वीरेन्द्रनगर । कर्णालीको राजधानी भएकोले पनि वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कसले बाजी मार्ला भन्ने चाँसो सर्वत्र छ ।
मेयरका लागि नेपाली कांग्रेसबाट उपेन्द्र खड्का र नेकपा एमालेबाट मोहनमाया ढकाल चुनावी मैदानमा छन् । ढकाल यसअघि वीरेन्द्रनगरकी उपमेयर पनि हुन् । खड्का भने राजनीतिक रुपमा त्यति ठूलो अनुभव नभएका व्यक्ति हुन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको समर्थन र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको सहयोगले उनी मेयरका उम्मेद्वार बनेका हुन् । ढकाल भने कर्णालीका एमाले शीर्ष नेता यामलाल कँडेलको रोजाईमै मेयरको उम्मेद्वार बनेकी हुन् ।
कांग्रेसका मेयरलाई सुर्खेतमा माओवादीको पनि समर्थन छ । जसले उपमेयर लिने गरि मेयरमा खड्कालाई सघाउने बचन दिएको छ । तर वीरेन्द्रनगरमा माओवादीको धरातल निकै कमजोर छ । यस्तोमा कांग्रेस र एमालेको टक्कर कडा रुपमा देखिने सम्भावना छ ।
सुर्खेत उपत्यकामा कांग्रेसमा हृद्यराम थानी पक्ष बलियो छ । पुर्खौदेखि राजनीति गरिरहेको थानी पक्ष केन्द्रमा शेखर कोइराला गुटको हो । खड्का भने संस्थापन देउवा पक्षका हुन् । सुर्खेतमा टिकट बाड्दा कांग्रेसबाट खड्का पक्षले एकलौटी गुटलाई मात्रै प्राथमिकता दिएको आरोप छ ।
थानी पक्षले माग गरेअनुसार ४० प्रतिशत भागबण्डा नदिएपछि अन्तिम समयमा पूर्ण खड्का पक्षले एकलौटी रुपमा आफू निकटलाई मात्रै टिकट वितरण गरेको थियो । यस्तोमा थानी पक्षले टिकट नपाएदेखि नै खड्का पक्षसँग असन्तुष्ट छ । टिकट वितरणमै बहिष्कारसम्मको अवस्थामा पुगेको थानी पक्ष यतिबेला कर्णालीमा महाधिवेशनका बेला एकलौटी पाखा लगाएको पेलानलाई पराजित गर्ने चुनौतिपूर्ण अवस्थामा उभिएको छ ।
खड्का पक्षबाट मेयरको उम्मेद्वार बनेका उपेन्द्र खड्काले व्यक्तिगत रुपमा सहयोगका लागि हृद्यराम थानीसँग आग्रह नै गरेका थिए । तर उनले विचार गर्ने संकेत मात्रै दिएका उनी निकट नेताले बताएका छन् । थानीलाई पेलेरै महाधिवेशनमा एकलौटी पदाधिकारी चयन गरेको खड्का पक्ष यतिबेला कसरी नगरमा जित हासिल गर्ने भन्ने संकटमा छ ।
यताबाट मेयरमा एमालेले प्रचार अभियान तीव्र पारेको छ । यामलाल कँडेल आफैँ मोहनमायालाई प्रत्यक्ष सघाइरहेका छन् । तर गुटको टकरावले गर्दा थानीले भने कांग्रेसका मेयर उम्मेद्वारप्रति अपनत्व देखाएका छैनन् ।
यसको सिधा असर चुनावमा देखिन सक्ने आँकलन सुर्खेतका बुद्धिजिवीले गरेका छन् । त्यसमाथि सुर्खेत उपत्यका र बजार क्षेत्र थानीको पकडमा छ । थानी बजार क्षेत्रमा जति शक्तिशाली छन्, त्यति प्रभाव पूर्णबहादुर खड्का पक्षको भने छैन ।
यद्यपी चुनावी माहोलमा कांग्रेस संस्थापन पक्षले रणनीति परिवर्तन गर्न सक्छ । थानी पक्ष मौन बस्यो वा खड्कालाई झट्का दिन चाह्यो भने त्यसको सिधा फाइदा एमाले उम्मेद्वार मोहनमायालाई हुनेछ । वीरेन्द्रनगरमा पहिलो महिला मेयर हुने इतिहास पनि मोहनमायाले लेख्नका लागि उनले मतदातासामू अपील गर्न सक्छिन् । भावनात्मक कुराले पनि चुनावमा ठूलो अर्थ राख्छ । त्यसमाथि समावेशिता र प्रतिनिधित्वको सवाल झन् महत्वपूर्ण हुने नै भयो ।
त्यसमाथि गएको पाँच वर्षमा नगरको सबै अनुभव र मतदातासँग राम्रोसँग भिजेकी कारण पनि उनलाई सहज देखिन्छ । यस्तो महत्वपूर्ण समयमा थानी पक्षले कसलाई व्यक्तिगत रुपमा साथ दिने भन्नेमा गम्भीर निर्णय गर्न सक्छ ।
यदि खड्का पक्षले महाधिवेशनदेखि केन्द्रीय राजनीतिसम्म गुटलाई मात्रै प्राथमिकता दिने र खड्काबाहेकलाई नेता नै नमान्ने प्रवृत्ति नत्यागेमा वीरेन्द्रनगरमा झट्का लाग्न सक्छ । त्यसका लागि मानसिक रुपमा थानी पक्ष तयार देखिन्छ ।
यस्तोमा वीरेन्द्रनगरको मेयरमा उद्योग वाणिज्य संघको चुनावको जस्तो नतिजा आउन सक्छ । जहाँ थोरै एमालेको सहयोगले थानी पक्षले खड्का पक्षलाई हराउँदै लक्ष्मण कँडेलले अध्यक्षमा जित हासिल गरेका थिए । त्यही अवस्था वीरेन्द्रनगरमा नदोहोरिएला भन्न सकिन्छ ।
‘राजनीति सँधै भइरहन्छ । तर खास राजनीति देखिने भनेको चुनावमै हो,’ थानी पक्षका एक नेताले कर्णालीखबरसँग भने, ‘वीरेन्द्रनगरमा जसको शक्ति मतदातासँग भिजेको वा जोडिएको छ । त्यसले जित्ने हो । हामी मानसिक रुपमा तयार छौँ । नतिजा चुनावपछि देखिएला ।’
यद्यपी मौन अवधिमा कांग्रेसको संस्थापन पक्ष कुन रणनीतिमा अगाडि बढ्छ, त्यही अनुसार वीरेन्द्रनगरमा मेयर पदका उम्मेद्वारले चुनावी दौडलाई जितमा परिणत गर्ने सम्भावना रहन्छ ।