सुर्खेत : कर्णालीमा वैकल्पिक र स्वतन्त्र युवाहरुको राजनीतिक सोच धेरै नाजुक छ । संघीयतापछिको सोच हेर्दा पनि युवाहरु दलको झोले कार्यकर्ता बन्न तयार छन् । तर आफैँ नेतृत्व गर्ने हिम्मत गर्दैनन् । हिम्मत गरेकाहरु पनि टिक्न धेरै मुश्किल छ ।
कर्णालीको राजधानी सुर्खेत र आसपासका जिल्लाकै अवस्था यस्तो छ । त्यसमाथि कर्णालीका हिमाली जिल्ला झन् चुनौतिपूर्ण अवस्थामा छन् । यस्तो अवस्थामा पनि डिग्री पास गरेका युवा प्रेमबहादुर बोहरा डोल्पाको ठूलिभेरी नगरपालिकाबाट मेयरको उम्मेद्वार बनेर राजनीतिमा उदाउँन लागेका छन् ।
कर्णालीमा सम्भवतः हिमाली जिल्लाबाट पढेलेखेका युवा कुनै ठूलो पार्टीमा नलागेर स्वतन्त्र रुपमा उम्मेद्वार दिने उनी एक्ला युवा हुन् । काठमाडौँमा झण्डै १० वर्ष बसेका उनी अहिले स्थानीय तहको चुनाव आउँदा गाउँ फर्केका हुन् ।
उसो त उनी पछिल्लो डेढ वर्षदेखि डोल्पामै बसेर गाउँलेलाई नयाँ र आधुनिक तवरमा राजनीतिप्रति जनचेतना फैलाउँदै हिडेका थिए । तर बाहिरबाट आएर भ्रष्टाचार विरोधी अभियान मात्रै चलाउँदा परिवर्तन दिगो नहुने भएपछि उनले मेयरमै उम्मेद्वारी दिएर राजनीतिमा उदाउन लागेका हुन् ।
उम्मेद्वारी दर्तापछि उनी डोल्पा ठूलिभेरीका हरेक गाउँमा भोट माग्न पुगेका छन् । जुन उनले सामाजिक सञ्जालमा पनि पोस्ट गरिरहेका छन् । कर्णालीमा परिवर्तन आफैबाट सम्भव छ भन्ने नारा बोकेका उनले ठूलिभेरीलाई समुन्नत बनाउने सपना देखाएका छन् ।
केही सचेत युवाहरुको समूह बनाएर उनले चुनाव प्रचार गरिरहँदा जित्ने सम्भावना पनि औल्याएका छन् । ठूलिभेरीमा ठूला दलहरुको प्रभाव सीमित र पुरानै संस्कारमा अल्झिएका कारण उनी यतिबेला आफूलाई जितको हकदार ठानिरहेका छन् ।
‘मुख्यतया जनता परिवर्तन चाहन्छन् । युवाहरुबाट त्यो सम्भव छ भन्ने विश्वास पनि छ । मात्रै युवाहरुले आँट गर्नुपर्छ,’ कर्णालीखबरले आयोजना गरेको समृद्धि विकासका पाँच वर्ष कार्यक्रममा ठूलिभेरीको मेयर पदका उम्मेद्वार बोहराले भनेका थिए, ‘कम्तीमा यतिबेला प्रवृत्तिका हिसाबले ठूला दलबाट आजित भएका जनताले युवालाई जिताउँछन् भन्ने आश छ । त्यो आश र उत्साहले चुनावमा होमिएका छौँ । यसलाई जितमा बदल्ने हरसम्भव प्रयास गर्छौँ ।’
काठमाडौँबाटै उनले शिक्षाको सचेतना फैँलाउँदै कर्णालीमा पुस्तकालय खोल्ने अभियान नै चलाएका थिए । त्यसपछि उनी आफै भ्रष्टाचार विरोधी अभियानमा जोडिएर गाउँमा सचेतना पनि फैलाएँ । अहिले उनी कर्णालीको राजनीति फेर्न आफैँ मैदानमा लडेर चुनाव जित्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेका छन् ।
कम्तीमा ठूलीभेरीमा उनको जितले कर्णालीका पढेलेखेका युवाहरु राजनीतिमा उदाउँदैछन् भन्ने ठूलो सन्देश दिन सक्नेछन् ।