सुर्खेत : सत्ता गठबन्धनबाट चुनावको कमाण्डर बनेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का कर्णालीमा दुई दिन चर्को दौडधुप गरे । उनले सुर्खेतमा कांग्रेसका मेयर उम्मेद्वारलाई भोट माग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिनदेखि सल्यान पुगेर कार्यकर्तालाई धम्की दिन भ्याएका छन् ।
ओलीको अकर्मण्यताले सत्ता गठबन्धन सिर्जना भएको भन्दै खड्काले देशभर जित सुनिश्चित रहेको दाबी गरेका थिए । सोमबार वीरेन्द्रनगरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै खड्काले नेता कार्यकर्तालाई गठबन्धनकै उम्मेद्वार भोट हाल्न पनि निर्देशन दिए ।
गठबन्धन र पार्टीको निर्देशन नमानेर व्यक्तिगत भोट हाले तुरुन्तै पार्टी सदस्यता खारेज गर्ने चेतावनी पनि उनले दिएका छन् । काठमाडौँमा अन्तिम समयसम्म पनि कर्णालीका सबै जिल्लामा गठबन्धन गर्ने कोसिस गरेका खड्काले सुर्खेत र रुकुम पश्चिमको विवाद मिलाउन भने सकेका थिएनन् ।
तर पनि उनले सुर्खेतमा भने माओवादी र कांग्रेस नेता कार्यकर्ताबीच केही समन्वयको प्रयास गरेका थिए । केही पालिकामा गठबन्धन सम्भव पनि भएको छ । तर पुरै सुर्खेत जिल्लामा भने गठबन्धन कायम हुन सकेन ।
केन्द्रमा गठबन्धनबाट चुनावी कमाण्ड नै सम्हालेका खड्काले कर्णालीमा गठबन्धनकै नेताहरुको आग्रहमा सुर्खेतका केही चुनावी सभालाई सम्बोधन गरेका छन् । उनी मंगलबार सुर्खेतको सिम्ताको चुनावी सभालाई सम्बोधन गरेपछि सल्यान पुगेका थिए ।
प्रकाश ज्वाला लगायत गठबन्धनका नेताहरुकै आग्रहमा उनी सल्यान पुगेर चुनावी सभालाई सम्बोधन गर्दै इमान्दार भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन पनि अपील गरे । नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको रक्षामा खड्काले पटक पटक अभिव्यक्ति दिँदै आएका छन् ।
उनले संविधान, संघीयता र गणतन्त्र बचाउन माओवादी केन्द्र र समाजवादीले ठूलो योगदान गरेको भन्दै उनीहरुलाई चुनावको बेला सडकमा छाड्न नमिल्ने बताउँदै आएका छन् । यसअघिका चुनावमा केवल कांग्रेस नेता र उम्मेद्वार बनेर सुर्खेत आउने उनी यसपटक भने गठबन्धनकै शीर्ष नेता बनेर कर्णालीका चुनावी सभालाई सम्बोधन गरिरहेका हुन् ।
कर्णालीबाट सत्ताको कमाण्ड सम्हाल्ने शीर्ष नेता भएका कारण पनि खड्कालाई केही दबाब छ । उनलाई पार्टीबाट कांग्रेसका उम्मेद्वार सँगसँगै गठबन्धनका उम्मेद्वारलाई जिताउन पनि गठबन्धन कार्यान्वयनमा ध्यान दिनुपरेको छ । जसले गर्दा उनकै पार्टीको शेखर कोइराला गुट केही आक्रोशित छ ।
यस्तो चुनौतिमा पनि उनी गठबन्धनका उम्मेद्वारलाई जिताउन सोमबार कर्णालीको राजधानी सुर्खेत आइपुगेका उनी केही दिन वीरेन्द्रनगरमै बस्ने योजनामा छन् । जो अब जिल्ला र प्रदेशको राजनीतिक अभिभावकसँगै केन्द्रीय राजनीतिको महत्वपूर्ण नेताका रुपमा पनि उभिएका छन् । उनको नेतृत्व, व्यवस्थापन र समन्वयमा कर्णालीमा एमालेलाई टक्कर दिँदै गठबन्धनले कहाँ कसरी चुनाव जित्छ ? हेर्न बाँकी छ ।