मुसिकोट : रुकुममा एक महिलाको अपहरण, बलात्कारपछि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीन माओवादी कार्यकर्तालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न पनि रुकुमकोट अदालतले आदेश दिएको छ । बुधबार म्याद थप गर्दै प्रहरीले अनुसन्धानका लागि आदेश दिएको हो ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षको उम्मेदवार रहेका कुमार सिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धानको लागि दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी प्रकाश डाँगीले बताए । उनका अनुसार वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका १० टक्सेरामा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर हत्या गरेको आरोपमा उजुरी दर्ता भएको छ ।
उनीहरुले हत्याअघि बलात्कार गरेको पनि आरोप छ । पक्राउ परेका तीन जनाविरुद्ध वैशाख २० गते किटानी जाहेरी दर्ता भएको थियो । अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा शव फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।
महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेपछि बलात्कारपछि हत्या भएको दाबी मृत्तकका आफन्तले गरेका हुन् । साथै कानमा रगत बगेको अवस्थामा पनि भेटिएको थियो । मृतक जुनमाया बुढाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।
प्रहरीले पक्राउ गरेकामाथि थप अनुसन्धान गरेपछि मात्रै वास्तविकता खुल्ने स्थानीयले बताएका छन् । वडाध्यक्षका उम्मेद्वार नै पक्राउ परेपछि सो गाउँपालिकामा माओवादीको चुनावी कार्यक्रम प्रभावित भएको छ । साथै यसअघि विभिन्न घटनामा पनि माओवादीले हत्या हिंसालाई प्राथमिकता दिएपछि माओवादीका जिल्ला र शीर्ष नेताहरुको आलोचना बढ्दो छ ।
र, यो पनि पढौँ
रुकुम पूर्वको टक्सेरामा महिलाको बलात्कारपछि हत्या