सुर्खेत : जनयुद्धपछि पनि माओवादीको गढ मानिएको रुकुममा उसका कार्यकर्ताले हत्या हिंसालाई तीब्र पारेका छन् । स्थानीय तहको चुनावको सेरोफेरोमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी कार्यकर्ताले एक महिलाको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ । हत्या भएकी महिला एमाले कार्यकर्ता रहेको जनाइएको छ ।
जसको नाम जुनमाया बुढा हो । एमालेले उनी आफ्नो कार्यकर्ता रहेको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । वैशाख १९ गते टक्सेरामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोप छ । जसमा ६ देखि ८ जना घाइते भएका दाबी गरिएको छ ।
कसरी भयो बलात्कार र हत्या ?
चुनावकै क्रममा वैशाख १९ गते माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको थियो । पुथाउत्तरगंगा गाउँपालिका वडा न. ११ कि ती महिला सुरुमा घरमै थिइन् । झडपका क्रममा उनी पनि घरबाट बाहिर निस्किइन् ।
घरबाहिर निस्कदा उनी माओवादी कार्यकर्ताको निशानामा परिन् । उनका भाई त्यतिबेला एमाले कार्यक्रममा गएको भनिएको छ । रिस र बदलाले भरिएका माओवादी कार्यकर्ताले उनलाई अपहरण गरेपछि निरन्तर बलात्कार गरेको आरोप स्थानीय आफन्तको छ ।
मृतक महिलाको भित्री वस्त्र खोलिएको छ । अपहरणपछि सामूहिक बलात्कार गरिएको र घटना बाहिरिने डरले उनको हत्या भएको स्थानीयको भनाई छ । हत्या गरेपछि वडाध्यक्ष, वडाध्यक्षका उम्मेद्वार लगायतको योजनामा शव घरबाट जंगलमा लिएर फालेको आरोप छ ।
स्थानीयले खोजी गर्दै जाँदा शव भेटाएपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको छ । माओवादीकै आडमा घटना बाहिरिदा बर्बर हत्या श्रृंखला र एमाले तथा कांग्रेस कार्यकर्तामाथि आक्रमणका घटना पनि बाहिर आउन थालेको छ ।
माओवादीद्धारा लगातार एमाले र कांग्रेस कार्यकर्तामाथि आक्रमण
बैशाखमा चुनावको मिति नजिक आउँदै गर्दा माओवादीले एमाले र कांग्रेस कार्यकर्तालाई लगातार आक्रमण गरेको छ । एमाले रुकुम पूर्वका अध्यक्ष टोप बहादुर ओलीले वैशाख १८ यता माओवादीले एमालेमाथी आक्रमण गरेको विज्ञप्ती निकालेरै बताएका छन् ।
वैशाख १९ गते उपल्लो शेर गाउँमा एमालेले कार्यकर्ताहरु घरदैलो गरिरहेको अवस्थामा माओवादी कार्यकर्ताहरुले घेराबन्दी गरि आक्रमण गर्दा भागाभाग भएको थियोे । सोही घटनामा ती महिलाको अपहरण, बलात्कार र हत्या भएको हो ।
मृत्तकका भाई एमाले कार्यकर्ता हुन् । उनी चुनावी कार्यक्रममा सहभागी भएका थिए । हत्याको आरोपमा वडाध्यक्ष जय कुमार बुढा, माओवादीबाट हालका वडा अध्यक्षका उम्मेद्धार कुमार सिंह र माओवादी कार्यकर्ता अर्जुन बुढा पक्राउ परेका छन् ।
गृहमन्त्रीको निर्देशनमा धमाधम माओवादी कार्यकर्ता पक्राउ
यसअघि रुकुम पश्चिमको सोती गाउँमा भएको ६ युवाको विभत्स हत्यापछि प्रहरी पनि धेरै सजग भएर घटनाको अनुसन्धान गर्ने गरेका छन् । अहिले पनि यस्तै अवस्था देखियो । शीर्ष नेताको आडमा माओवादीले कार्यकर्ताले एमाले र कांग्रेस कार्यकर्तालाई आक्रमण गरेर घाइते बनाउने र कसैको हत्या गर्दा पनि प्रहरी दोषीलाई पक्राउ गर्न अगाडि नसरेपछि गृहमन्त्रीले निर्देशन दिनुपरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशन पाएपछि रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
रोल्पाका पत्रकार माधवकुमार ओलीका अनुसार सोमबार राति रोल्पाको गंगादेव गाउँपालिका–५ मा भएको घटनाका बारेमा सुरूमा प्रहरीले उजुरी लिन नमानेपनि गृहमन्त्रीको निर्देशनपछि बल्ल प्रहरीले उजुरी लिएको थियो। उनले ब्रेकएनलिंक्समा लेखेको समाचारअनुसार जिल्लामा काँग्रेस कार्यकर्ताहरूमाथि दैनिक खुकुरी प्रहार हुन थालेपछि मंगलवार गृहमन्त्रीले नेपाली काँग्रेसका जिल्ला सभापतिहरूसँग घटनाको जानकारी समेत लिएका थिए।
गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरे अहिले घटना स्थलमा खटिएका छन्। प्रहरीले मंगलवार मात्रै खुकुरी प्रहारमा संलग्न एक व्यक्तिलाई सल्यानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गंगादेव गाउँपालिका–५ का २४ वर्षिय प्रकाश केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। केसीलाई सल्यानको थारमारेस्थित रोशन ग्यारेजबाट पक्राउ गरेको हो।
सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका –५ मा माओवादी केन्द्र निकटको वाइसीएलका राजेन्द्र परियार, नवराज महर र पक्राउ परेका केसीको समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षिय मनबहादुर बुढा र २० वर्षिय कमल बुढा घाइते भएका थिए। घाइते मध्ये मनबहादुरको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ।
रूकुममा पनि माओवादी कार्यकर्ता पक्राउ
गत वैशाख १९ गते माओवादी र एमालेबीच भएको झडपमा परि बेपत्ता भइ सोमबार मृत फेला परेकी रूकुम पूर्वको पुथाउत्तरगंगा वडा न.११ कि एक महिलाको हत्यामा संलाग्न भएको आरोपमा प्रहरीले सोही वडाका बहालवाला वडा अध्यक्ष जय कुमार बुढा, माओवादीबाट हालका वडा अध्यक्षका उम्मेदवार कुमार सिंह र माओवादी कार्यकर्ता अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको छ।
सोही वडाको उपल्लो सेरास्थित जंगलमा ३९ वर्षिया जुनमाया बुढा मगरको शव फेला परेको थियो। उक्त घटनाको विषयमा नेकपा एमाले रूकुम पूर्वले विज्ञप्ति जारि गर्दै माओवादीले अपहरण गरेर बलात्कार गरि हत्या गरेको जनाएको थियो।
यस्तै रूकुम पश्चिममा काँग्रेस कार्यकर्तालाई कुटपिट गर्न नपाएको भन्दै प्रहरी चौकी आक्रमण गर्ने नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँकमिटी रूकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
गत बिहिबार नेपाली काँग्रेसका कार्यकर्तासँग झपड भएको र काँग्रेसका कार्यकर्ताहरू ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिका–९ स्थित नुवाकोट प्रहरी चौकी तोडफोड गरेर काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए। यस बिषयमा गृह मन्त्रालयले प्रदेश कार्यालयबाट अनुगमन टोली समेत खटाएको थियो।
यस्तै, आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ताहरू आठबिसकोट नपा–१० का २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओलीलाई पक्राउ गरेको छ। स्रोत : ब्रेकएनलिंक्स
शीर्ष नेताको आडमा हत्या, हिंसा र आक्रमण
रुकुम पूर्व तथा रोल्पाबाट वर्षमान पुन माओवादीका शीर्ष नेता हुन् । यस्तै रुकुम पश्चिमबाट माओवादीका शीर्ष नेता जनार्दन शर्मा हुन् । उनीहरु शीर्ष नेता भएकाले सजिलै अध्यक्ष प्रचण्डसम्म सत्ता र शक्ति छ ।
प्रचण्डसम्म पहुँच भएकाले वर्षमान र जनार्दनको आडमा रुकुम पूर्व र पश्चिममा माओवादी कार्यकर्ताले आतंक मच्चाउँदै आएका छन् । ‘माथि हाम्रो नेता छ’ भन्दै उनीहरुले एमाले र कांग्रेस कार्यकर्तालाई लगातार आक्रमण गर्ने, घाइते बनाउने र हत्यासम्म गर्ने गरेको स्थानीयको भनाई छ ।
यसअघि रुकुम पश्चिमको सोतीमा पनि ६ जना युवाको विभत्स हत्या गर्ने माओवादी नेता कार्यकर्ता जेलमा छन् । तर मुद्दाको अझै फैसला हुन सकेको छैन । माओवादी नेता कार्यकर्तालाई मन नपर्नेवित्तिकै त्यहाँ एमाले र कांग्रेस कार्यकर्ताले कुटाई खानुपरेका धेरै घटना छन् । जसकारण माओवादी कार्यकर्ताले गुण्डाराज चलाएको स्थानीयको भनाई छ ।
‘माओवादीले मन नपराएको मान्छेले कुटाई खान्छ । उसलाई हानेरै मारिन सक्छ । एमाले र कांग्रेस हो भने जनयुद्धजसरी अहिले पनि कुटिन्छ’ रुकुम पश्चिमको मुसिकोटका एक स्थानीयले कर्णालीखबरसँग भने, ‘माथि हाम्रो नेता छ । तलाई मारेर जेल गएपछि छुटिहाल्छु भन्दै यहाँ आतंक मच्चाइरहेका छन् । माथिका नेता भनेका जनार्दन र वर्षमान त होलान हजुर । चुनावको बेला हामीलाई बाँच्नै गाह्रो भैसक्यो ।’
रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पामा लगातार झडपका घटना भएपछि माओवादी शीर्ष नेता अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनको पनि आलोचना भइरहेको छ ।
र, यो पनि पढौँ