सुर्खेत : कर्णालीको राजधानी सुर्खेत लगायतका ठाउँमा मौन अवधि सुरु भएपनि केही ठाउँमा झडपका घटना भएका छन् । निर्वाचन आयोगले चुनावको ७२ घण्टाअघि घोषणा गरेको मौन अवधि सुरु भएको बेलादेखि नै भित्र भित्रै कार्यकर्ताबीच झडप भइरहेको हो ।
मंगलबार राती सुर्खेतको सिम्तामा झडप भएको छ । जहाँ एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हँुदा ६ जना घाइते भएका छन् । तर मध्यराती कांग्रेस नेताको निर्देशनमा प्रहरीले सिम्तामा घरभित्रै पसेर एमाले निकट कार्यकर्तालाई कुटपिट गरेको छ ।
उनीहरु स्थानीय भएपनि प्रहरीले एमाले कार्यकर्ताभन्दै घरमै गएर कुटपिट गरेको छ । घटनाको एमाले जिल्ला पार्टी कार्यालयले भत्र्सना गरेको छ । एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । साथै एमालेले प्रहरीको घटनाले स्वच्छ र स्पष्ट निर्वाचन हुनेमा आशंका रहेको जनाएको छ ।
यस्तै रुकुम पूर्व, रुकुम पश्चिमका केही ठाउँमा पनि झडप भएका छन् । जहाँ चुनावको प्रचार प्रसार सुरु भएदेखि नै झडप भएका हुन् । आफु निकट कार्यकर्ता लगाएर नेताहरुले मौन अवधिमा पनि मतदाता प्रभावित पार्ने कोसिस गर्दा झडपका घटना भएका स्थानीय बासिन्दाले सूचना दिएका छन् ।
यस्तै जाजरकोटको नलगाँड नगरपालिकामा पनि झडप भएको छ । मंगलबार दिउँसो र राती नलगाँडका केही वडा र भित्री बस्तीमा झडप भएको स्थानीयले बताएका छन् । मौन अवधि लागेपछि नेताहरुको निर्देशनमा कार्यकर्ताले मतदाता प्रभावित गर्न मदिरा सेवन गराउँदा झडपका घटना भएका पनि बताइएको छ ।
कालिकोट र दैलेखका केही गाउँमा पनि झडप भएका छन् । मदिरा सेवन गरेका कार्यकर्ता र मतदाताबीच पार्टीको नाम र भोट कसलाई हाल्ने भन्ने विषयमा झडप भएका हुन् । मौन अवधि सुरु भएकाले उनीहरुले पालिकाको नाम गोप्य राख्न आग्रह गरेका छन् । आफ्नो पार्टी र उम्मेद्वारलाई जिताउनका लागि सुरुमा धम्की दिने र त्यही कुरा अर्को पार्टीले थाहा पाएपछि कार्यकर्ताहरु झडपमा उत्रिने गरेको स्थानीयले बताएका छन् ।
झडपका घटना भएपनि मौन अवधि भएका कारण प्रहरी घटनास्थल जान सकेको छैन । जसकारण वास्तविक घटना बाहिर आउन सकेका छैनन । कतिपय उम्मेद्वार, नेता, कार्यकर्ता र निकट पत्रकारबीच पनि झडपका घटनाहरुबारे जानकारी हुने भएपनि उनीहरुले खुलाउन चाहेका छैनन् । यसले सर्वसाधारण मतदाता मारमा परेका छन् ।
मतदातामाथि धम्की र चेतावनी
मौन अवधिमा बाहिर बोल्न नमिलेपछि कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालबाट पनि मतदातामाथि प्रभाव बढाउन थालेका छन् । सहजै नमानेको ढंगले उनीहरु आक्रमण गर्ने धम्की दिन थालेका केही मतदाताले कर्णालीखबरसँग जानकारी दिएका छन् । भोट हाल्ने आफ्नो व्यक्तिगत अधिकार हो भन्दा ‘तलाई पख न सिध्याइदिन्छु’ भन्ने धम्की सामाजिक सञ्जालमा फेसबुक मेसेन्जरमार्फत दिने गरिएको केही मतदाताको भनाई छ ।
‘मौन अवधि लागेपछि बाहिर प्रचार गर्न पाइएन, तर अहिले फेसबुक मेसेन्जरमा धम्की दिन थालेका छन्,’ सुर्खेत, दैलेख र जुम्लाका केही मतदाताले कर्णाली खबरसँग भने, ‘हामीलाई त आफ्नो उम्मेद्वारलाई भोट नहाले वा पराजित भए तलाई बाँकी नराख्ने खालका धम्की दिन थालेका छन् । हामीले हेरौँला भनेर जवाफ फर्काएका छौँ । फेसबुक चलाउन पनि कम गरेका छौँ ।’