दाङ : स्थानीय तह निर्वाचनमा दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले आज बिहान आ–आफ्ना मतदान केन्द्रमा मतदान गरेका छन् । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–ं१९ स्थित जनता विद्यापीठ बिजौरीस्थित मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले दंगीशरण गाउँपालिका–४ स्थित रात्रि मावि बैबाङ मतदान केन्द्रमा मतदान गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान केन्द्रमा र सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ को पशुपति मावि हरिपौराबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले तुलसीपुरको बोर्डिङमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर–६ को सेन्टर माविस्थित मतदान केन्द्रमा गरे ।
त्यस्तै संविधानसभा सदस्य अनारकली मियाँले तुलसीपुर–५ को तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रमा मतदान गरे ।् सोही मतदान केन्द्रबाट एमाले तुलसीपुर उपमहानरका उपप्रमुख उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वलीलगायतले पनि मतदान गरे ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको वडामा भने आज मतदान हुन सकेन । वडा सदस्यका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि त्यहाँ आज हुने मतदान जेठ ३ गते मात्रै हुनेछ । ज्ञवालीको तुलसीपुर–१७ दीपेन्द्र मावी मानपुरमा मतदान केन्द्र छ ।
शारीरिक रूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिका साथै किरिया बसेकाले पनि मतदान गर्न आएका छन् । तुलसीपुर–५ बसपार्क घर भएकी पाँच दिनदेखि किरियापुत्री बसेकी २५ वर्षीया सुनिता विकले तुलसी बोर्डिङ स्कुलको ‘च’ मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
१५३ मतदानस्थल ४६१ मतदान केन्द्र रहेको दाङमा चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् ।