१९ असोज, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने दानसाँघुस्थित तिला जवानदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गरेका छन् । कार्य प्रारम्भ भएको नौ वर्षपछि दानसाँघु दोभानमा सम्पन्न पुल आज उद्घाटन गरिएको हो ।
मन्त्री भण्डारीले तत्कालीन संविधानसभा सदस्य हुँदाका बखत आफैँले उक्त पुल निर्माणका लागि बजेट पहल गरे । पुल उद्घाटन कार्यक्रममा उहाँले संविधानसभा, तत्कालीन स्थानीय निकाय हुँदै सङ्घीय संरचना आइसकेपछि निर्माण भएको दानसाँघु पुल साविक कर्णालीको पहिलो पक्की पुल भएको बताए ।
“नौ वर्षपछिको लामो यात्रापछि निर्माण सम्पन्न भएको पुलले डोल्पाका साथै जाजरकोट जोड्न सघाउ पुग्नेछ”, मन्त्री भण्डारीले भने, “यससँगै जिल्लामा निर्माणाधीन अन्य पुल बनेर जुम्लाका सबै पालिकाहरु अब चाँडै सडक सञ्जालमा जोडिनछन् ।”
पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावलले उक्त पुल रु चार करोड ३९ लाख ७१ हजार लागतमा निर्माण भएको बताए । “पुलको निर्माणका लागि एसबिएबन्धन भगवती जेभी काठमाडौले रु दुई करोड ८८ लाख ३० हजारमा आव२०६७÷०६८देखि कार्य शुरु ग¥यो”, प्रमुख रावलले भने, “पछि विसं२०७३ मा पुनः डिजाइन भई पृथ्वीअमित जेभीले रु एक करोड ५१ लाख ४१ हजारमा काम शुरु गरेको थियो ।”
गत असारमा निर्माण सम्पन्न पुलको पुनः डिजाइनका कारण निर्माण हुन नौ वर्ष लागेको उनले बताए। उनका अनुसार उक्त पुलको लम्बाइ ७७ मिटर छ । पुल निर्माणले यहाँका नागरिकको आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।