जुम्ला : नेपाली कांग्रेसबाट चन्दननाथ नगरपालिका – ८ को वडाध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले आफ्नै कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफुलाई नदिएको भन्दै चन्दननाथ नगरपालिका–८ कै कुमार बिक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।
चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।
कुटपिटबाट घाइते कुमार शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफुलाई उनका भाई कृष्ण रोकाया, सोही वडाका बसन्त धराला, देवि धराला, बिर्ख रोकायासहितको टोलीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
उनले दिएको उजुरीमा त्यस्ता अपराधिक कार्यगर्ने गर्ने व्यक्तिमाथि आवश्यक कारबाही गर्न माग गरिएको छ । पीडित शाहीले भने वडाध्यक्ष उम्मेदवार रोकायाले फोन गरेर घरमा छलफल गरौला भन्दै घरभित्र थुनेर सामुहिक रुपमा कुटपिट गरेको उनले उजुरीमा उल्लेख गरेका छन् ।
‘आफुहरुलाई भोट किन हालेको भन्दै धन्नै मारिसकेका थिए, ज्यान जोगाइ दिन’ भन्दै कमल बोहरा र घाइते कुमार विक्रम शाहीका श्रीमति नानु शाही जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते कुमार विक्रम शाहीको घाउ जाँच गर्न अस्पतालमा पठाइएको छ । र, घटनाको अनुसन्धान भइरहेको छ ।
जुम्लाका प्रहरी निरिक्षक भुवन भट्टले आफुलाई भोट नहालेको भन्दै कुटपिट गरेको बिषयमा प्रहरीमा उजुरी आएको बताए । आवश्यक छानविन गरेर कारबाही हुने उनको भनाइ छ ।