काठमाडौं : पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् ।
नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् ।
राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै गएको समेत यसले देखाउँछ । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रिय रुपमा सहभागी गराइरहेका छन् ।
यसै क्रममा दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा निर्वाचित भएका छन् । आज सम्पन्न भएको मत गणानामा बोहोरोले दुई हजार ३०४ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
बोहोरा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए । क्रान्तिकारीका महासचिव दीपेश पुनका अनुसार सो सङ्गठनका विभिन्न नेताहरू स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित भएका छन् ।
खरेल अखिल क्रान्तिकारीका लुीम्बनी प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका खरेलले ५५२ मतसहित विजयी भएका थिए । सो वडामा कूल ८०० मत खसेको थियो ।
उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दबहादुर बलालले १८५ मत मात्रै प्राप्त गरेका थिए ।
यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित भएकी छन् । लामो समयसम्म अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वमा रहेकी भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय थिइन् ।
नेपालको संविधान जारी भएपछि भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भण्डारीले ६८८ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बर्तौलाले ६२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकाया बझाङको मस्टा गाउँपालिका–१ वडाध्यक्षको उम्मेदवार छन् । सो गाउँपालिकाको मत गणना जारी छ ।
यस्तै, अन्य स्थानीय तहमा समेत युवा विद्यार्थीको सक्रिय सहभागिता छ ।
यस्तै, दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा विजयी छवि सुवेदी पनि पूर्वविद्यार्थी नै हुनुहुन्छ । सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई ८०० मतान्तरले पराजित गरेका हुन् । सुवेदीले तीन हजार २०० मत प्राप्त गरेका छन् ।
अध्यक्षमा विजयी भएका सुवेदी हाल माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको कर्णाली प्रदेश अध्यक्षसमेत हुन् । एमबिबिएसको अन्तिम वर्षको तयारी चल्दै गर्दा माओवादी युद्धमा होमिएका सुवेदी निकै सादगी व्यक्तित्वका रुपमा परिचित छन् ।
विजयी भएपछि सुवेदीले छोटो प्रतिक्रिया दिँदै गाउँपालिकाभित्र स्रोत र साधनले भ्याएसम्म स्थानीयवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरूलाई विजयी गराउने सबै मतदातालाई धन्यवाद समेत दिएका छन् ।