फोटो क्रमशः महेन्द्र शाह, वीरबहादुर गिरी
खलंगा : जाजरकोटको बारेकोट गाउँपालिका – ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गोरख थापा विजयी भएका छन् । थापाले ४ सय ९२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भक्तबहादुर बस्नेतले ३ सय ८१ मत ल्याएका थिए । दुई मतदान केन्द्र रहेको उक्त वडामा ९ सय ८० मत खसेको थियो ।
९ वडा मध्ये बारेकोट गाउँपालिकाको वडा नम्बर ९, ८, ७, ६, ५ गणना भइसकेको छ । दुईको गणना जारी छ । वडा नम्बर ९ को वडाध्यक्षमा एमालेका दानबहादुर शाही विजयी भएका छन् भने ८ को अध्यक्षमा कांग्रेसका योज्ञेन्द्र सिंह चयन विजयी भएका छन् ।
वडा नम्बर ७ मा भने स्वतन्त्रतर्फका उम्मेदवार विशाल किरण बस्नेतले जितेका छन् भने वडा नम्बर ६ मा एमालेका डम्बरबहादुर महतारा विजयी भएका छन् । पाँच वडाको मतगणना हुँदा गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फ नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले अग्रता कायम गरेका छन् ।
उनले २ हजार ३ सय ३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरबहादुर गिरीले १ हजार ७ सय ७० मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षतर्फ भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरीले १ हजार ७ सय ५८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदकी प्रत्याशी एमालेकी गिताकुमारी सिंहले १ हजार ९ सय ४१ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन् ।
वडा नम्बर दुई र चारको मतगणना जारी छ । हालसम्मको मतपरिणाम हेर्दा अध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् भने उपाध्यक्षमा एमालेकी उम्मेदवारले अग्रता कायम गरेकी छन् ।
यो पटक बारेकोटको विभिन्न वडाहरुमा फरक फरक तवरले नतिजा आइरहेको छ । पहिले कांग्रेस र माओवादीले जितेका वडाहरुमा एमालेले जितिरहेको अवस्था छ ।
बारेकोटमा कांग्रेस माओवादीबीच तालमेल छ । पहिलो पटक एक्लाएक्लै लडेर जित्ने कांग्रेस र माओवादी अहिले गठबन्धन हुँदा पनि वडाहरुमा जित्न मुस्किल भइरहेको छ ।
यसले गर्दा पालिकाको नेतृत्वमा पनि गठबन्धनले भने जस्तो नजिता गठबन्धनका एक नेताले कर्णालीखबरसँग बताए । उनले भने – ‘हामीलाई यतिसम्म अन्तरघात हुन्छ भन्ने सोचेका थिएनौं । पहिले हामीले नै जितेका वडाहरुमा अहिले एमालेले जितेको छ । पहिला पनि हाम्रो प्रतिस्पर्धामा एमाले होइन । कांग्रेस नै हो । एक पटक समीक्षा हुन्छ ।’
गठबन्धनका नेताले भने जस्तै बारेकोटमा माओवादी र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने गरेको थियो । तर, अहिले फरक नतिजा आइरहेको छ । यसको उदाहरण वडा नम्बर पाँच पनि हो ।
एमालेको बलियो भनेको वडा नम्बर पाँच, तीन र दुई हो । यसअघि पनि वडा नम्बर तीनमा यसअघि एमालेले जितेको थियो अहिलेको नजिता हेर्न बाँकी छ । पाँच यसकारण बलियो नेकपा एमालेका केन्द्रिय सदस्य डम्बरबहादुर सिंहको वडा भएका कारण । यी वडा बाहेक अन्य वडाहरुमा एमालेको संगठन कमजोर नै थियो ।
तर, अहिले एमालेको बलियो वडा मानिएको पाँच पनि कांग्रेसका गोरख थापाले जितेका छन् । अघिल्लो चुनावमा एमालेले जितेको थियो । यद्यपी यो वडा गाउँपालिका अध्यक्षका प्रत्याशी महेन्द्रबहादुर शाहको वडा हो ।
अहिलेसम्मको मतगणनाको परिणाम हेर्दा गाउँपालिकाको अध्यक्षमा महेन्द्र शाह र उपाध्यक्षमा गिता सिंहकै अग्रता छ ।