लुम्बिनी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गरे ।
भारत र नेपालबीचको समान रीतिरिवाज, परम्परा, संस्कृति र सामाजिक संरचनाले दुवै देशका जनतालाई एकापसमा जोडेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपलासँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू कृतसङ्कल्प रहेको बताए ।
बुद्ध उपदेशका अंशलाई आफ्नो मन्तव्यमा बेलाबेलामा समावेश गरेको प्रधानमन्त्रीप्रति प्रशंसा व्यक्त गर्दै दर्शकदीर्घाबाट तालीको गद्गदाहतले सभाभवन गुञ्जायमान भएको थियो । बुद्धका पवित्र पाइला परेका तथा उनको जीवन र शिक्षाका स्थलहरुको बाटो नै बौद्ध परिपथ हो ।
विश्व सम्पदास्थलका रुपमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले विश्व सम्पदामा राखेका भारतका गया, नालन्दा, वैशाली, पूर्वी चम्पारण, भागलपुर तथा नेपालका ऐतिहासिक बौद्धस्थल, बौद्धनाथ, स्वयम्भूनाथ, कपन गुम्बा, पोखरा र लुम्बिनी बौद्ध परिपथबाट जोडिनेछन् ।
बौद्ध सम्प्रदायबीच अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्व शान्तिमा योगदान गर्ने बौद्ध परिपथको परिकल्पना गरिएको सन्दर्भमा त्यसलाई विकास गर्ने चाहना प्रधानमन्त्री मोदीले व्यक्त गरे ।
प्रधानमन्त्री मोदीले नेपाल र भारतको मैत्री विश्वमै अतुलनीय रहेको चर्चा गर्दै दुवै देशका जनताले एकअर्कालाई असीम शब्दका साथ व्यवहार गर्ने गरेका बताए । उनले नेपाल आउँदा र विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीमा आफूलाई छुट्टै आध्यात्मिक अनुभूति हुने गरेको बताए ।
उनले पटकपटक भगवान् बद्धको पवित्र जन्मस्थल नेपालको प्रशंसा गर्दै सगरमाथाको देश संसारका अनेकौँ मठमन्दिर र पवित्र स्थलले सधैँ पावन रहेको उल्लेख गरे । नेपालको आर्थिक एवं व्यापारिक विकासमा टेवा पुर्याउन भैरहवामा एकीकृत जाँच चौकी निर्माण गरिने घोषणा गर्नाका साथै बौद्ध परिपथको विकास दुवै देशको साझा परियोजना हुने जानकारी दिए ।