सिमकोट : हुम्लाका सात स्थानीयत मध्ये छ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा पद तथा गोपनीयताको शपथ लिने कार्य भएको छ । उनीहरुलाई मुुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलले शपथ गराएका थिए ।
मुुख्य निर्वाचन अधिकृत पौडेलले नवनिर्वाचित सात वटा गाउँपालिकाका अध्यक्ष मध्ये छ जनाको पद तथा गोपनीयताको शपथ खुवाउने कार्य सम्पन्न भएको जानकारी दिए । उनले शुक्रबार शपथ लिने अध्यक्षमा नाम्खा गाउँपालिकाका प्रेम लामा, सिमकोट गाउँपालिका विजयी भण्डारी, खार्पुनाथका कर्णबहादुुर रावल, सर्केगार्डका ठानबहादुुर रोकाया, अदानचुुलीका मोहनबिक्रम सिंह र ताँजाकोटका लालकेश जैसी रहका छन् ।
छ जनै निर्वाचित अध्यक्षलाई प्रमाण पत्र समेत मुख्य निर्वाचनअधिकृत पौडेलले प्रमाण पत्र समेत प्रदान गरेका थिए । सो कार्य भएपछि औपचारिक रुपमा निर्वाचित अध्यक्षहरु पदबहाली भएको छ । सो कार्यक्रममा निर्वाचित अध्यक्षहरुको तर्फबाट खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले अब नयाँ जिम्मेवारी काँधमा आएको र जनताको पक्षमा काम गर्ने बताए ।
कार्यक्रममा प्रमुखजिल्ला अधिकारी सीता परियार संविधान सभाका सदस्य रीता शाही, सुुरक्षा निकायका प्रमुख, नाम्खा र खार्पुनाथ गाउँपालिकाका निर्वाचन अधिकृत लगायतको उपस्थिती रहेको थियो ।
बिहीबार रातीमात्र मतगणनाको परिणाम सार्वजनिक भएको चङ्खेली गाउँपालिकाका निर्वाचित अध्यक्ष प्यारीलाल शाही भने मौसम बिग्रेको र हेलिकोप्टरका लागि इन्धन नभएको कारण उडान नभएपछि सो कार्यक्रममा उपस्थित हुन पाएनन । उनी बिहान हेलिकोप्टरबाट सिमकोट आउने कार्यक्रम रहेको थियो ।