वीरेन्द्रनगर : असल नेतृत्व भए नीति असल हुन्छ । नत्र नीति अलपत्र पर्छ । बेसहारा हुन्छ । नीतिको कुशल नेतृत्व गर्ने क्षमता सायदैमा हुन्छ । जुन, जाजरकोट बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र शाहसँग थियो । ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका महेन्द्र शाह यो निर्वाचनमा पराजित भएका छन् ।
उनको पराजयले धेरै प्रश्नहरु उठेका छन् । महेन्द्र जस्ता मान्छेहरुले पनि चुनावमा हार्दारहेछन् ? बारेकोटमा साँच्चै विकास र समृद्धिको जग बसाल्ने महेन्द्र होइनन र ? बारेकोटबाट दुई दिन लगाएर सदरमुकाम जानुपर्ने बाध्ययता उनकै पालामा हटेको होइन र ? सिटामोल नपाएर छट्पटाउने बारेकोटीका बस्तीहरुमा स्वास्थ्य संस्थाहरु उनकै पालामा पुगेनका होइनन र ? अभावको परिचय उनकै पालामा फेरिएको होइन र ? यी र यस्ता थुप्रै प्रश्नहरु उठेका छन् । प्रश्नहरु उठ्न स्वाभाविकै हो ।
किन ? महेन्द्र शाह नै हुन् बारेकोटमा विकास र समृद्धिको जग बसाल्ने । महेन्द्र शाह नै हुन् खलंगा केन्द्रित राजनीतिलाई बारेकोटमा लिने । महेन्द्र शाह नै हुन् नेता बन्न बस्तीका समस्या बुझ्नुपर्छ भन्ने ।
जसकारण, रिस, डाहा, ईष्र्या, क्रोध समाज भड्काउने दुनियाँदेखि पर रहेर आफ्नो पाँच वर्षलाई महेन्द्रले सफल कार्यकालका रुपमा प्रस्तुत गरे । कार्यसम्पादन र मुल्यांकनका आधारमा जाजरकोटका सात पालिका मध्ये नम्बर १ पालिका बनाए ।
गाउँको छोटे नेता । शिक्षक नेता । कर्मचारी नेता । खोक्रो सिद्धान्तका नेता बाहेक महेन्द्र शाहलाई नसम्झने बारेकोटी सायदै छन् । त्यसले गर्दा पनि उनको पराजयपछि प्रश्न उठ्नु स्वाभाविकै हो ।
राजनीति गर्नका लागि वैचारिक बहस उत्तिकै चाहिन्छ । सैद्धान्तिक विचार उत्तिकै चाहिछ । व्यवहारिक बहस उत्तिकै चाहिन्छ । महेन्द्रमा त्यो थियो । तर, उनी पराजित हुनुपर्यो । त्यो पनि गठबन्धनबाट । ०७४ को चुनावमा एक्लै कांग्रेसबाट जितेका महेन्द्र शाहले यतिबेला गठबन्धनबाट हार व्यहोर्नु पर्यो ।
मतगणना हुँदै थियो । वडा नम्बर ९ बाट गणना सुरु गरिएको थियो । ९ वडा मध्ये पाँच वडा गणना भएको थियो । महेन्द्र करिब पाँच सयले अग्रता कायम गरेका थिए । र, पनि उनले लेखेका थिए – ‘बारेकोट गाउँपालिकाको अन्तिम चरणको मतगणना बाँकी छ । ३ बजेसम्म परिणाम घोषणा हुनसक्छ । प्रतिस्पर्धा तीव्र छ । परिणाम जसका पक्षमा पनि आउन सक्छ, धैर्य र संयम बनौं साथीहरु । सहज रूपमा परिणाम स्वीकार्नु हाम्रो राजनितिक संस्कार र धर्म हो । आवेगपूर्ण अभिव्यक्ति, अराजनितिक गतिविधि हाम्रा संस्कार होइनन् । धैर्य र संयम बनौं ।’
संस्कार र सिद्धान्तको राजनीति गर्ने महेन्द्रका पक्षमा परिणाम आएन । अन्ततः सबै वडाको मतपरिणाम आयो । नेकपा एमालेका उम्मेदवार वीरबहादुर गिरी गाउँपालिकाको अध्यक्षमा विजयी भए ।
अघिल्लो कार्यकालमा एक्लै जितेका यतिबेला गठबन्धनका उम्मेदवार महेन्द्र शाह पराजित भए । गिरीले ३ हजार ९ सय ५४ मत ल्याएका थिए भने महेन्द्रले ३ हजार ८ सय ४५ मत ल्याएका थिए । गठबन्धनका उम्मेदवार महेन्द्र मात्रै पराजित भए । उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका नरबहादुर गिरी विजयी भए ।
परिणामपछि सबै आश्चर्य भए । यो हुनु स्वाभाविकै थियो । जित्ने सम्भावना भएका महेन्द्रले हार्दा । त्यसमाथि अघिल्लो पटक कांग्रेसबाट एक्लै जितेका महेन्द्र । यसपटक झन् गठबन्धन त्यसले पनि उनी जित्छन् भन्ने सबैको आकलन थियो । यसकारण पनि अघिल्लो कार्यकालमा सफल भएका महेन्द्रलाई यो पटक देख्न चाहने धेरै थिए ।
महेन्द्र शाहले नतिजा आएपछि समाजिक सञ्चालनमा लेख्दै भनेका भनेका छन् - ‘बैशाख ३०, गते भएको स्थानीय तहको चुनावमा मलाई मतदान गर्नुहुने सबै मतदाताहरूप्रति हार्दिक आभार सहित धन्यवाद । बारेकोटवासी बुवाआमा, दाजुभाइ दिदीबहिनीहरुको पार्टी संगठनप्रतिको उत्साह, म प्रतिको विश्वास र भरोसाले मलाई थप उत्साहि बनाएको छ । संगठनको जिवन्त इतिहास कायम राख्ने निरन्तर नडगमगाई लागिरहनेछु । निर्वाचनको परिणाम जित हार स्वाभाविक हो । मेरो पराजयका कारणले साथिहरू हतोत्साहित नहुन आग्रह गर्दछु । धैर्य र संयमता हाम्रा विशेषता हुन् । संयम र धैर्य बनौं , विधि र प्रक्रिया अनि राजनितिक हिसाबले हाम्रो जित भएको छ । यो व्यवस्था जोगाउनु र संस्थागत विकास गर्नु हाम्रो दायित्व हो । गठबन्धनका विषयमा समीक्षा गर्दै गरौंला, राजनितिक रूपमा गरिएको गठबन्धन सही या गलत के हो ? विगतका दिनहरूले पुष्टि गर्नेछ । गठबन्धनका पक्ष र विपक्षमा अभिव्यक्तिहरू नदिन साथिहरूलाई आग्रह गर्दछु । विशेष धन्यवाद, पार्टी सभापति बेदराज दाइ, पालिका सभापति रामचन्द्र ज्योति लगायत थुपै शुभचिन्तक पार्टीका तमाम नेता कार्यकर्ता सबैप्रति हार्दिक आभारसहित धन्यवाद , अहोरात्र रातदिन खट्नु भयो, खट्न प्रेणा दियो । विजय सम्पूर्ण पदाधिकारि साथिहरूलाई हार्दिक बधाई अनि सफल कार्यसम्पादनको शुभ–कामना । सधैभर रचनात्मक र सकारात्मक सहयोग रहनेछ । कार्यशैलीका आधारमा समर्थन र प्रतिवाद हुने नै छ । जय नेपाल ।’
उनको यो प्रतिक्रियाको कारण धेरैले सामाजिक सञ्जालमा चर्चापरिचर्चा गरेका छन् । कलाकारदेखि पत्रकारसम्मले चर्चा गरेका छन् । सामाजिक सञ्जालमा कलाकार सोमराज रावल लेख्छन् – ‘हामीप्रतिको माया र सद्भावप्रति हार्दिक धन्यवाद । हजुरको साथ र सहयोगको लागि सदैव सकारात्मक छु । अन्तमा हार्दिक सम्मान ।’
उनले मात्रै होइन महेन्द्र शाहकै पोष्टमा क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्व कार्यवाहक अध्यक्ष दीपबहादुर घर्ती लेख्छन् – ‘सुन्दर विचारका लागि अध्यक्ष ज्युप्रति आभारी छु ।’ यस्तै क्रान्तिकारी पत्रकार संगठनका जाजरकोट अध्यक्ष तीर्थ बोहराले लेख्छन् – ‘नैतिक रुपमा बारेकोटी माओवादी लिडरहरुले राजीनामा ठोक्नुपर्ने हैन र ? ।’
त्यति मात्र नभइ नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्वअध्यक्ष जनक केसीले लामो लेखका छन् । बारेकोट गाउँपालिकामा महेन्द्र या एउटा युवाले हार्दा युवा आन्दोलन ढिलो हुन्छ कि भन्ने शंका समेत व्यक्ति गरेका छन् ।
केसीले लेखेको जस्ताकोतस्तै
प्रिय साथी महेन्द्र ।
विद्यार्थी राजनीतिमा २०५३ देखि मेरो सक्रियता सुरु भएर उत्कर्षमा पुगेका बेला अर्थात् २०५५ देखि २०६२ सम्मको त्यो निकै संकटपूर्ण, ऐतिहासिक र अप्ठेरो समयममा आफु सक्रिय राजनीतिमा नभए पनि मलाइ सधैँ सम्भावना, संघर्ष र सपनाको उदाहरण मानेर तिमीले आफनो र अरुको जीवनका बहुमुखी आयामहरु दर्शाउँदै हिँडेको आज जस्तै लाग्छ । मेरो पारिवारिक बाध्यताका कारण सक्रिय राजनीतिमा लाग्न नसकेर म निष्क्रिय बन्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतीमार्फत पूर्णकालिन कार्यकर्ता भएका तिमी एक दशकमै जिल्लामा कांग्रेसको मात्र नभइ समग्र राजनीतिकै एउटा भर्भराउदो आशा बन्न भयौं । यो तिम्रो लागि मात्र नभइ म र म जस्तै हजारौं युवाहरुको लागि खुसी र गर्वको कुरा हो । गफले दुनियाँ जित्ने तर कामले सिन्को नभाँच्ने बेकुफ विद्धानहरुका कुतर्कको जवाफ दिनुपर्ने जरुरी अहिले छैन । ५ वर्षको कार्यकालमा बारेकोट र बारेकोटी जनताको लागि तिमीले दिएको नेतृत्वको मुल्यांकण समयले आवश्य गर्नेछ । आफुले हारेर बारेकोटी जनतालाई धेरै कुरामा जिताएका छौं । बेइमानी र इमान्दारीता आज जुन बाटो आउछन् भोलि फर्केर त्यहीँ बाटो जान्छन् भन्ने न्यूनतम चेत नभएकाहरुका अघि तिमीले हारेका छैनौं जितेका छौं । तिमीले हार्दा हामीले महेन्द्र या कांग्रेसको नेता या एउटा तन्नेरीले हारेको भन्दा पनि एउटा युवा आन्दोलन ढिलो हुन्छ कि भन्ने शंका मात्र गरेका छौं । यसर्थ अवको जाजरकोटको सामाजिक आन्दोलन अनि जाजरकोट कांग्रेसको राजनीतिमा तिम्रो आवश्यकता झन् बढ्दै जाने कुरामा दुर्इ मत छैन । जनताले गरेको फैसला र जनताले दिएको मतलाई कहिल्यै अपमान हुन नदिएर रुख झै अटल अनि तारा झै चम्किलो भइरहने जोसजाँगर र हिम्मतका साथ अझ शसक्त हुदै अघि बढ्ने अनन्त प्रेरणा तिमीलाइ मिलिरहोस् मेरो शुभकामना ।
बारेकोटको समग्र राजनीति खलंगा केन्द्रित थियो । जसलाई महेन्द्रले बारेकोट केन्द्रित बनाए । बारेकोटमा विकास र समृद्धिको ढोका खोले । पूर्ण रुपमा विकास गर्न दोहोरिन चाहेका महेन्द्रले पराजित हुनुपुगे ।
उनी पराजित हुनुमा गठबन्धनको अन्तरघात त हुने कुरा त सामान्य नै हो । विचार नमिल्ने । सिद्धान्त नमिल्नेसँग अन्तर्घात नहुने भन्ने दुई मत थिएन । तर, त्यस अन्तर्घातमाथि इट्टा थप्ने काम आफुलाई देउवा समूहको कांग्रेस नेता कहलाउनेहरुले गरे । उनीहरको पनि हात रह्यो ।
महेन्द्र भन्थे – ‘गुटले कांग्रेस यस्तो अवस्थामा पुगेको छ । गुट बन्द गरौं । गुटले गर्दा आम कार्यकर्तालाई कांग्रेसप्रति विश्वास गुम्छ । युवाहरु कांग्रेसको राजनीतिमा कम आउँछन् । तपाईंहरुले गुट गर्दा आम युवाहरु पछि पर्ने गरेका छन् । आम अजेण्डा बोकेकाहरु पछि पर्ने गरेका उदाहरण छन् । यसकारण पार्टी भित्रैको गुट अन्त्य गरेर युवा अगाढि बढ्नुपर्छ । पार्टी निर्माणसँगै समग्र बारेकोटको भाग्य र भविष्य समृद्धिको तर्फ लिनुपर्छ ।’
‘गुटको अन्तय गरेर कांग्रेस बलियो बनाउन चाहन्थे महेन्द्र’ कर्णालीखबरसँग कुराकानी गर्दै एक नेताले भने – ‘तर, यहाँ आफ्नै पार्टीका नेताहरुले महेन्द्रलाई भोट नदिनु । त्यो हाम्रो गुटको होइन । हाम्रो वडाको पनि होइन, हाम्रो घर नजिकैको पनि होइन, हाम्रो भेगतिरको पनि होइन, भनेर प्रचार गर्न पुगे । गठबन्धनका त कुरै नगरौं । उनीहरु त हामीले राजनीति गरेदेखि रुखमा भोट हालेका छैनौं, हामीले हाम्रा कार्यकर्तालाई हाल्न पनि दिदैनौं, महेन्द्रले पहिलो पटक हामीलाई हराएको याद छ । यसपाली हामी रुखमा भोट हाल्ने होइन, भनेर कार्यकर्ताले मात्रै होइन नेताले नै भनेको अवस्था थियो । त्यसैले अन्ध कार्यकर्तालाई के थाहा हुन्छ विकासप्रेमी नेता को हो भनेर । ठिकै छ । महेन्द्रले मतले मतले हारेको हो । मनमा उस्तै छ ।’
गुटलाई अन्त्य गर्नुपर्छ भन्ने महेन्द्र कांग्रेस महामन्त्री गगन थापासँग नजिक मानिन्छन् । थापाकै टिकट रहेर काम गरेका महेन्द्र पत्रकारिताको जगबाट राजनीतिमा आए । कांग्रेसको क्षेत्रीय सभापति भए । अहिले उनी जिल्ला सभापतिको दाबेदार समेत हुन् । यो पराजयले उनलाई कम आम परिर्वतन चाहेन बारेकोटीलाई वितृष्णा जगाएको छ ।
तर, लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धी हुन्छ नै । ‘सधैं हामीले मात्रै होइन अरुले नेतृत्व गरेर पनि हाम्रो गाउँ ठाउँ विकास हुनुपर्छ’ भन्नेमा महेन्द्र छन् ।
लोकतन्त्रलाई आधार मान्ने महेन्द्रको पाँचवर्षे कार्यकाल सफल कार्यकाल हो । यसकारण पनि थप बारेकोटका आवश्यकता र वास्ताविकतालाई बुझेर समृद्धिको खोजी गर्न दोहोरिन चाहेका महेन्द्र शाहको सपना अधुरै रह्यो ।
पराजित भए पनि महेन्द्रले बारेकोटको स्थानीय सरकारलाई सधैंभर रचनात्मक र सकारात्मक सहयोग रहने बताएका छन् । कार्यशैलीका आधारमा समर्थन र प्रतिवाद हुने उनको भनाइ छ । हाम्रा कमीकमजोरीलाई पनि समीक्षा गरेर अगाडी बढ्ने महेन्द्र शाह बताउँछन् ।
अन्ततः लामो आभार पत्र लेख्दै महेन्द्र शाहले बारेकोटवासीलाई धन्यवाद समेत व्यक्ति गरेका छन् । यस्तो छ उनको आभार पत्रः
हार्दिक आभार
आदारणीय बारेकोट गाउँपालिका निवासी आमाबुवा, दाजुभाई तथा दिदिवहिनीहरु नेपालको नयाँ संविधान जारी भए पछि वि.सं. २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा तपाईहरुको माया, स्नेह, साथ र सहयोगले बारेकोट गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुने अवसर प्राप्त भयो । यसका लागि तपाईहरु सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
यस पाँच वर्षको कार्यकालमा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण गाउँपालिकावासीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जन प्रतिनिधि, गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय संघ संस्थाहरु, नागरिक समाज, पत्रकार मित्रहरु र सुरक्षा निकायलाई अमुल्य साथ सहयोगका लागि पुन हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछु ।
अन्त्यमा बारेकोट गाउँपालिकाबासीकै माझमा रहि सम्पूर्ण गाउँपालिकाको समग्र विकासका लागि सदैव सेवामा समर्पित रहिरहने प्रतिवद्धता व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
धन्यवाद
महेन्द्र बहादुर शाह
निवर्तमान अध्यक्ष
अहिले बारेकोट गाउँपालिकामा आएको नयाँ नेतृत्व पनि कम छैन । लामो समय पत्रकारिता गरेर राजनीतिमा आएका वीरबहादुर गिरीले अध्यक्ष जितेका छन् भने ०५२ सालमा सुरु भएको जनयुद्धबाटै राजनीति गरेका नरबहादुर गिरी निशान उपाध्यक्षमा छन् । यस्तै वडाहरुको युवाको विजयी भएको छ । अहिलेको बारेकोट गाउँपालिकाको नेतृत्व पनि युवाकै हातमा छ । यसबाट पनि बारेकोटवासीले विकास र समृद्धिको अपेक्षा धेरै गरेका छन् । वीरबहादुर गिरी नेतृत्वको कार्यकाल कस्तो रहन्छ ? यो हर्ने बाँकी छ ।