मैले भर्खरै उच्चारण गर्न जानेको थिए क,ख,रा
नबिगारेर लेख्न सिकेको थिए आफ्नो नाउ ।
बिगारी बिगारी भन्न सिकेको थिए मास्टर,मास्टर्निका नाउहरु ।।
त्यहीँ बेलामा
मैले आधी मात्रै नाउ जानेको अधबैंसे मास्टरले
नराम्रोसँग पिरोलेको थियो, मेरो आलो मस्तिष्कलाई ।
उ मलाई काखमा राखेर छुन्थ्यो, मेरा गुप्ताङ्गहरु ।
मेरो कलिलो योनी, मैले सकिन उसको क्रूर नजरहरुबाट जोगाउन ।
जसले,
पढाउथ्यो विद्यालयमा मर्यादाका पाठहरु
सिकाउथ्यो समाजलाई सम्बन्धका मर्यादाहरु ।
चिच्याएर खेलौना माग्ने उमेरको मलाई
म चिच्याउँदा पनि खेलौना जसरी लुछ्यो उसले ।।
चेतना दिनेले यातना दिएपछि अक्षर पढ्न गएको म अनुहार पढेर फर्किए ।
तर, लेख्न सकिन !
आफ्ना कापिका पानाहरुमा आफ्नै कहानी
सुनाउन सकिन ! आमालाई
कक्षाकोठा भित्रको कहालीलाग्दो कथा
उतार्न सकिन ! चित्रहरुमा
आदरणीयहरुको मुखुण्डो ओडेका अश्लिल अनुहारहरु
म जस्तै थि !
म जत्तिकै थि !
पहिलो रजस्वलासम्म नभएकी कमला
रक्ताम्य योनीसँगै लतपत भेटीइ कमला नदी छेउको झाडीमा ।
उसको न्यायको लागि चर्को आवाजमा
‘जस्टिस फर कमला’ भन्नेहरुकै भीडमा भेटियो उसको बलात्कारी !
त्यहीँ लगत्तै सुनियो अर्को खबर !
चाउरी परेकी माथिल्लो घरकी बज्यैका तिघ्राहरुमा पनि
भेटिए रगतका टाटाहरु ।
सहारा दिने बलिया पाखुराहरुले नै निमोठे छन् उनको घाँटी !
भरोसिला सम्बन्धहरुले नै छेदविच्छेद पारेछन् उनका यौनाङ्ग ।।
त्यसपछि झनै डरलाग्यो मलाई
मलाई सुमसुम्याउने हातहरुसँग ।
मलाई थप्थपाउले हत्केलाहरुसँग !
बुबाको धेरै नजिकको साथी भनौदोले
खुब नजिकबाट नियालेर हेर्थ्यो मलाई !
चिमोठे जस्तै लाग्थ्यो मलाई उसका नजरहरुले ।।
दाइको पत्यारिलो मित्रले पनि
पटकपटक समाउन खोजेको छ मेरा पाखुराहरु ।
घरकाले घरको मान जोगाउन चुप बस्नुपर्छ भन्दा
मैले आफुलाई जोगाउन सकिन !
समाजले सहनुलाई संस्कार भनि सिकायो,
मैले विद्रोह गर्ने साहस पाइन !
बडो प्रेमिल भनिएका साइनोहरुबाट पनि पिल्सिएको छु म !
कुल्चिएको छ मेरो आत्मसम्मान ।
अमर्यादित शब्दहरुलाई सम्बन्धले प्रेम हो भन्यो !
अक्षम्य दुखाइहरु लाई प्रेमको अकाट्य नियम बनाइयो !
म चिच्याउँदा अरुले सुनिदिएनन्, म लुटिए !
विद्राहमा आफ्नाहरुले चिच्याउन दिएनन्, म लाचार भए !
वर्षौँदेखि चलिरहेको छ यो अन्तरमनको द्वन्द्व
कलिलो बालापनको पुनःस्मरणमा
क्रूर स्मृतिहरुसँग प्रत्यक्षिकरण गर्छु म !
भरिलो उमेरको पुनरागमन गर्दा
भयक्रान्त परिदर्शन गर्छ, मेरो मस्तिष्कले !
आफ्ना भनिएका सम्बन्धहरुमा,
अश्लिलताको गन्ध भेट्छु म !
मसँगै हुर्किएका दिदिबहिनीहरु,
मसँगै बाँचिरहेका छोरीचेलिहरु,
म जसरी बाँच्न नपरोस् भनेर, आज चर्को स्वरमा
म सुनाउदै छु, मेरो वक्तव्य
ताकी,
सुनौला रहर बोकेर विद्यालय पसेकी छोरीहरू
भयानक डर बोकेर घर नफर्किउन !
फेरि,
बजाउन नपरोस् थपडी बलात्कारीले नै ।
न्यायको झुटो वकालत गर्दा...
आफ्नै बुवाको काख अनि दाजुभाइको अंगालोमा
ननिसासिउन कोही चेलिहरु !
प्रेमिको प्रेमिल थप्पडको जवाफ दुख्नेगरि दिनसकुन
प्रेमिकाहरुले !
हो त्यसैले आज न्यायलयको ढोकामा
चिच्याएर सुनाउँदै छु म आफ्नो वक्तव्य ।
झोलाभरि गह्रौं सपना बोकेर विद्यालय पुग्नभन्दा,
रित्तो छातीभरि साहस भरेर
तिम्रो दैलोमा पुग्न मलाई ढिलो भयो न्यायदाता ।
जब पिल्सिन्छ कलिलो शरीर कसैको कामुकता मुनि
निमोठिदिन्छ आत्मबलको घाटी !
जब समाजले पढाउन थाल्छ संस्कार, अनि सभ्यताको पाठ
छिचोलिदिन्छ मस्तिष्क !
जब,
आफ्नाहरुले नै रोकिदिन्छ समाएर पाखुरा...
पैतालाहरुसँग हुँदैन अगाडि बढ्ने सामर्थ्य !
निमोठिएको आत्मबल
छिचोल्लिएको मस्तिष्क
सामर्थ्यविहीन पैताला लिएर
तिम्रो ढोकासम्म पुग्न वर्षौँ हिँड्नुपर्छ ।
मर्यादा अनि मानवताका हरेक चरण पार गरेर
कामुक पिपासुहरुलाई म चाहन्छु, हदैसम्मको यातना दिन ।
त्यसैले,
म चिच्याइरहेछु उभिएर तिम्रो दैलो अगाडि !
आज तिमिले अवेर भयो भनेर ढोका बन्द गरे
भोलि बिहान सबेरै
भेटिनेछन् अरु छोरीहरू
समाचारपत्रका अग्रस्थानमा ।
फेरि....मा भेटियो बलात्कृत बालिकाको शव
भन्ने शीर्षकमा
यसपालि ज्यान बलात्कृतको गयो भने इमान सरकारको जानेछ।