कर्णाली प्रदेश सरकारलाई बजेट सुझाव पेश गरेपछि अर्थमन्त्री बिन्दमान बिष्ट र अर्थसचिव झक्कप्रसाद आचार्यसँग कालो चश्मा लगाएका संघका अध्यक्ष लक्ष्मण कँडेल । फोटो : हृद्य रिमाल
सुर्खेत : कर्णालीको पूर्वाधार विकासमा निजी क्षेत्रले ६ वटा मुख्य सुझाव पेश गरेका छन् । सोमबार कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना विकास मन्त्रालयमा बजेट निर्माणमा सुझाव दिने क्रममा कर्णालीका निजी क्षेत्रले ६ वटा मुख्य सुझाव पेश गर्दै कर्णालीको विकासमा टेवा दिन सकिने बताएका हुन् । जसमा आयात निर्यात हुने सामानको वार्षिक तथ्यांक संकलन गर्नेदेखि निजी क्षेत्रले नै प्राविधिक ट्रेनिङ सेन्टर चलाउनेसम्म तथा कर्णालीमा निजी क्षेत्रले नै लगानी सम्मेलन आयोजना गर्नेसम्मका छन् ।
छलफल कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश सरकारले कर्णालीमा आयात हुने सामानको बारेमा खास तथ्यांक राख्न नसकेको बताए । यस्तै उनले कर्णालीमा लगानी सम्मेलन नहुँदा पनि वातावरण नभएका कारण लगानी भित्र्याउन समस्या रहेको बताए । यस्तै उनले पूर्वाधार अभावका कारण पनि उद्योग, कलकारखाना विकास हुन कर्णालीमा तत्काललाई असम्भवजस्तै रहेको पनि स्पष्ट पारे ।
सुर्खेत उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यसँगै मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र अर्थमन्त्री बिन्दमान बिष्टसामू संघका तर्फबाट बजेट विशेष सुझाव पेश गरिएका हुन् । जहाँ सुर्खेत उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष कँडेलले मुख्य ६ बुँदा सुझाव दिएका छन् । कार्यक्रममा संघले अर्थमन्त्री बिष्टलाई ३४ बुँदे ज्ञापनपत्र नै बुझाएको थियो । तर त्यसमध्ये उल्लेखित महत्वपूर्ण ६ वटा बुँदाबारे यहाँ चर्चा गरिएको हो ।जुन यसप्रकार छन्ः
१. कर्णालीको अर्थतन्त्रको वास्तविक चित्र
कर्णालीमा अहिले अर्थतन्त्रको खास चित्र देखिदैँन । जति आयात र निर्यात भइरहेको छ, त्यो केवल आवश्यकताका आधारमा मात्रै छ । तर त्यसको खास तथ्यांक सरकारले राखेको देखिदैँन् ।
संघका अध्यक्ष कँडेलले कर्णालीको अर्थतन्त्रका बारेमा पहिले सर्वेक्षण गर्नुपर्ने बताए । र, त्यो वास्तविक तथ्य र तथ्यांकमा टेकेर अर्थतन्त्र विकासमा लाग्नुपर्ने बताए ।
सरकारले बजेट व्यवस्थापन गरे निजी क्षेत्रले नै कर्णालीको अर्थतन्त्रको वास्तविक रिपोर्ट बाहिर ल्याउने संघका अध्यक्ष कँडेलले बताए ।
‘सरकारले स्पष्ट नीति तथा कार्यक्रम ल्याओस् । र, त्यहीअनुसार बजेट पनि छुट्याओस् । निजी क्षेत्रले कर्णालीको अर्थतन्त्रको वास्तविक रिपोर्ट संकलन गरेर दिन्छ,’ उनले भने ।
२. लगानी सम्मेलन
उनले सुझाएको दोस्रो महत्वपूर्ण सुझाव हो, लगानी सम्मेलन । कर्णाली भर्जिन भएपनि लगानी नआउँदा समस्या ज्युँका त्युँ रहेको उनले बताए । लगानी भित्र्याउने बारेमा छलफल भएपनि वातवारण पर्याप्त छैन ।
यसकारण सुर्खेत उद्योग वाणिज्य संघले बजेटको व्यवस्थापन भए निजी क्षेत्रबाटै कर्णालीमा लगानी सम्मेलन गर्न सकिने बताएको छ । अर्थतन्त्रका विज्ञ र सरोकारवालासँगै लगानी ल्याएर कर्णालीको विकास गर्न सकिने र त्यसको निरन्तरता पनि कर्णालीकै निजी क्षेत्रमा निहित रहेको संघका अध्यक्ष कँडेलले बताए ।
३. नियमित विद्युत आपूर्ति
कर्णालीमा तत्काल विद्युत आपूर्तिको समस्या हटाएमा मात्रै उद्योग र कलकारखानामा लगानी बढाउन सकिने देखिन्छ । यसै पनि सुर्खेतमा अघोषित लोडसेडिङ छ । बत्तीको कुनै ठेगान हुँदैन । आउने जाने क्रम एकदमै धेरै छ ।
विद्युत नियमित नभएकै कारण कर्णालीमा अहिले भइरहेको लगानी पनि सुरक्षित नभएको व्यवसायीको भनाई छ । यसका लागि प्रदेश सरकारले बजेट छुट्याउने मात्रै नभई विद्युत नियमित हुने गरि काम गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।
विद्युतको नियमित आपूर्ति भएमा चौकुने सिमेन्ट कारखाना बन्न सक्ने र त्यसले कर्णालीमा हजारौँको संख्यामा रोजगारी सिर्जना गर्न सक्ने संघका अध्यक्ष कँडेलले बताए ।
४. ट्रेनिङ सेन्टर सञ्चालन
कर्णालीमा जनशक्तिको ठूलो समस्या छ । जुन सामान्य छैन । दैनिक व्यापार व्यवसाय बढेपनि दक्ष जनशक्ति भने बढ्न सकेको छैन ।
कर्णालीमा दक्ष जनशक्ति बढाउन ट्रेनिङ सेन्टर चलाउन सक्नुपर्ने निजी क्षेत्रको सुझाव छ । सरकारले अभिभावकत्व लिएर ट्रेनिङ सेन्टर खोले निजी क्षेत्रले नै सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गरेर बजारमा जनशक्तिको समस्या समाधान गर्न सक्ने व्यवसायीको भनाई छ ।
उदाहरणका लागि अहिले सुर्खेतमा ६०० भन्दा धेरै मोबाइल पसल छन् । तर दक्ष जनशक्ति भने ६० जना पनि छैन । यसले कर्णालीमा कति ठूलो समस्या छ भने स्पष्ट छ ।
अहिले बजारमा अर्धदक्ष जनशक्ति मात्रै छ । दक्ष जनशक्ति निकै न्यून छ । सोही कारण पनि उद्योग कलकारखाना मारमा रहेका व्यवसायीको भनाई छ । सरकारले बजेट छुट्याएर ट्रेनिङ सेन्टर चलाउन सके भारतीय मजदुर ल्याएर नेपालीलाई भारत र खाँडी पठाउनुपर्ने बाध्यता नहुने व्यवसायी बताउँछन् ।
५. पर्यटन विकास
कर्णालीमा निजी क्षेत्रले आर्थिक वृद्धिको सबैभन्दा ठूलो सम्भावना देखेको पर्यटन हो । कर्णालीमा काँक्रेविहार, पन्चकोसी, ज्वालामुखी, पचाल झरना, कुपिन्डे दह, रारा र फोक्सुन्डो जस्तो बहुचर्चित पर्यटकीय क्षेत्र छन् ।
तर त्यहाँ जाने बाटो भने राम्रो छैन । पूर्वाधार विकास भएको छैन । बाटोमा होटल राम्रा छैनन् । रारा जाने दुई लेनको बाटो कालोपत्रे गरिएको खण्डमा मात्रै पनि ठूलो राजस्व उठ्ने र प्रदेश सरकारलाई फाइदा हुने व्यवसायीको भनाई छ ।
‘हामी रारा जाने बाटो मात्रै विकास गर्न सकौँ । मान्छे आफ्नै कारमा रारा जान सक्ने हो भने धेरै रुपैयाँ आम्दानी हुन सक्छ,’ संघका अध्यक्ष कँडेलले भनेका छन्, ‘कम्तीमा पाँच वर्षमा रारा जाने बाटो मात्रै पीच गरिदियौँ भने कर्णालीको पर्यटनले कायापलट गर्छ ।’
सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावत कर्णालीको पर्यटनको सम्भावना धेरै भएपनि सरकारको उदासिनताका कारण विकास नभएको बताउँछन् ।
६. सुर्खेत विमानस्थल विस्तार
कर्णालीको विकासका लागि तत्काल सुर्खेत विमानस्थल विस्तार गर्नुपर्छ । सुर्खेत विमानस्थल अहिले केही विस्तार गरेको खण्डमा मात्रै ७२ सिटे जहाज सुर्खेतमै अवतरण हुने र नेपालगञ्ज जानुपर्ने बाध्यता हट्ने व्यवसायीको भनाई छ ।
‘अहिले एउटै एयरलाइन्सको हालीमुहाली छ । विमानस्थल साँघुरो भएर ठूलो जहाज बस्नै सकेका छैनन्’ संघका अध्यक्ष कँडेलले अगाडि भने, ‘राजधानी भएपछि सुर्खेतलाई केन्द्र बनाएर कर्णालीका जिल्लामा उडान हुनुपर्ने भएपनि नेपालगञ्ज भइरहेको छ । सरकारले तत्काल विमानस्थल विस्तार गर्ने काम अगाडि बढाओस् ।’
सुर्खेत विमानस्थल विस्तार हुँदा सुर्खेतलाई नै कर्णालीको केन्द्रका रुपमा हवाई रुट पनि विकास गर्न सकिने उनी बताउँछन् । यसका लागि सरकारले कडा र प्रभावकारी कदम चाल्नुपर्ने व्यवसायीको भनाई छ ।
कार्यक्रममा अध्यक्ष कँडेल लगायत उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अर्थमन्त्री बिन्दमान बिष्टले खाँदा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य, संघका निवर्तमान अध्यक्ष धनबहादुर रावत, संघका वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, कार्यसमिति सदस्य, मन्त्रालयका अन्य कर्मचारी तथा केही पत्रकारको सहभागिता रहेको थियो ।