खलंगा । जुम्लाका आठवटै स्थानीय तहमा ६४ झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माणपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि यहाँका स्थानीयवासी अहिले खुसी बनेका छन् ।
गैरसरकारी संस्था सुर्य सामाजिक सेवा सङ्घ (फोर यस) जुम्ला टि.वि.एस.यु र हेल्भेटास नेपालको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साविकको जिल्ला विकास समिति र हालको जिसस तथा स्थानीय तहको समन्वयमा सो झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएको सुर्य सामाजिक सेवा सङ्घ जुम्लाका प्राविधिक पूर्णबहादुर थापाले बताए ।
सो कार्यक्रमअन्तर्गत चन्दननाथ नगरपालिकामा तीन, पातारासी गाउँपालिकामा १३, गोठिचौर गाउँपालिकामा नौ, तातोपानी गाउँपालिकामा ११, तिला गाउँपालिकामा नौ, हिमा गाउँपालिकामा दुई, कनकासुन्दरी गाउँपालिकामा १२ र सिञ्जा गाउँपालिकामा पाँच झोलुङ्गे पुल निर्माण भएका प्राविधिक थापाले बताए ।