सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले विगत वर्षका बजेट नीति कार्यक्रम बनाउँदा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी वर्षको बजेट नीति कार्यक्रम बनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आजको बैठकमा सुरु भएको आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरुले बजेट कार्यक्रमलाई समानुपातिक, समावेशी र सन्तुलित ढङ्गको बनाउन सुझाव दिए ।
उनीहरुले विगत वर्षको बजेटको नीति कार्यक्रमका लक्ष्य, उद्देश्य, सिद्धान्त उत्कृष्ट हुने गरे पनि त्यसको कार्यान्वयनको पाटो कमजोर देखिएकाले गम्भीर हुनुपर्ने र बजेट कार्यक्रम बनाउँदा वित्तीय अनुशासन कायम राख्ने खालको हुनुपर्नेलगायतका सुझाव पनि दिए।
आजको छलफलमा प्रदेशसभा सदस्यहरू प्रेमप्रकाश भट्ट, भरतबहादुर खड्का, श्यामलाल रानाथारु, महेशदत्त जोशी, गेल्बुसिंह बोहरा, बलबहादुर सोडारी, हर्कबहादुर कुँवर, सुशीला बुढाथोकी, नन्दबहादुर साउद र बलदेव रेग्मीले भाग लिएका थिए ।
बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा छलफल गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
मन्त्री रावलले सोमबार सुरु भएको बजेट अधिवेशनको पहिलो दिनको बैठकमा आर्थिक वर्ष २०७९र०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथिमकता पेश गरेका थिए ।