२९ कार्तिक, जुम्ला । कर्णाली प्रदेशको विकटमध्येको एक जिल्ला जुम्लामा किशोरी हत्याका दोषीलाई पक्राउ गरेर कारवाही गर्न माग गर्ने सर्वसाधारणमाथि सार्वजनिक मुद्दा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा उनीहरुले विरोध प्रदर्शन गरेपछि तोडफोड भएको भन्दै ९ जनालाई पक्राउ गरेर सार्वजनिक मुद्दा लगाइएको हो ।
हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको केही दिनअघि हत्या भएको थियो । उनको हत्या भएको अवस्थामा खोलामा शव भेटिएको थियो । पाँच दिनदेखि हराईरहेकी उनको खोजविनका क्रममा खोलामा शव भेटिएपनि प्रहरीले अहिलेसम्म हत्यारालाई कारवाही गर्न सकेको छैन् ।
उनको बलात्कारपछि हत्या भएको आशंका छ । बलात्कारपछि हत्या गरेर खोलामा शव फालिएको र उनको कपडा खोलाभन्दा पर भेटिएपछि उनको हत्या भएको आशंका गरिएको हो । तर प्रहरी र प्रशासन कार्यालयले अहिलेसम्म पनि दोषीलाई कारवाही त परको कुरा, उनको हत्यामा सलंग्न भएकाको पहिचान समेत सार्वजनिक गर्न आनाकानी गरिरहेको छ ।
हत्यामा संलग्न लगायत शंकास्पद घटनाको अनुसन्धान गर्दा सम्भावित आरोपितमाथि पनि छानबिन हुनुपर्ने आफन्तको माग छ । प्रहरी प्रशासनले हत्यारा पक्राउ गर्न ढिलाई गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा तोडफोड गरेका थिए ।
प्रहरी, प्रशासनदेखि मन्दिरमा समेत तोडफोड !
घटनाको अनुसन्धान गर्नुपर्ने माग गर्दै मृत्तक किशोरीका आफन्तले शनिबार प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेका थिए । तर शुरुमै प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले पनि ढुंगामुढा पनि प्रहार गरे । सो क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भए ।
घाइते भएकामध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेर हिराशतमा राख्यो । घटना यत्तिकै रोकिएन, जिल्ला प्रशासन कार्यालयले उनीहरुमाथि सार्वजनिक मुद्दा लगाएर कारबाही प्रक्रिया अगाडी बढाएको छ । मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी बस्ने कक्ष, सीडीओको निवासमा क्षति पुगेको आरोप छ ।
त्यति मात्रै नभई आक्राशित भीडले प्रहरी बिट र मालिका मन्दिरमा समेत तोडफोड गरेको छ । मालिका मन्दिरमा तोडफोड गर्नुको कारण खुलेको छैन् । तर किशोरी महिनावरी भएका बेला बाहिर बस्दा उनीमाथि बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले न्यायको नाममा अराजक गतिविधि गर्नेलाई पक्राउ गरेर सार्वजनिक मुद्दा लगाइएको बताएका छन् । किशोरीको हत्यारा खोज्ने काम प्रहरीले गरिरहेको भन्दै उनले दोषीमाथि कारबाही हुने बताए । तर न्याय माग गर्दा ८ लाखभन्दा धेरैको क्षति गराउने अराजक युवाहरुलाई पक्राउ गरेर कारबाही गर्नैपर्ने बाध्यता आएको उनको भनाई छ ।
४ जना पक्राउ, ५ जना फरार
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गत उनीहरुमाथि मुद्दा चलाइएको दाबी गरेका छन् । मुद्दा चलाइएकामध्ये ४ जना मात्रै पक्राउ परेका छन् ।
५ जना भने फरार छन् । घटनामा चार जना प्रहरी पनि घाइते भएका थिए । दुई जना पीडित पनि घाइते भएकोमा उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् । घाइते दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
हत्यामा सलंग्न पक्राउ तर पनि आन्दोलन
प्रहरीका अनुसार घटनामा सलंग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पीडितको किटानी जाहेरी दर्ता गरेपछि तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एक जना महिला पनि छन् । हत्याको प्रमुख योजना स्थानीय करबहादुर भण्डारी र रामचन्द्र डाँगीले बनाएको आरोप छ । डाँगीकी श्रीमति पनि पक्राउ परेकी हुन् ।
तीनै जनाले योजनावद्द रुपमा हत्या गरेको आरोप पीडित पक्षको छ । प्रहरीले घटनाको अनुसन्धान गरेर, उनीहरुलाई दोषी देखाएर अदालतमा मुद्दा पनि अगाडी बढाएको छ । तर अहिलेसम्म पनि दोषी जेल जानुको साटो धरौटीमा छाड्ने चालबाजी हुन थालेपछि पीडित परिवार आक्रोशित भएका हुन् ।
घटनाको फितलो अनुसन्धान र दोषीलाई कारबाही हुनुको साटो उम्काउने प्रयास भएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रिएको हो । तर यसबारे प्रहरीले थप जवाफ दिएको छैन् । पीडित पक्ष भने न्याय माग्दा पनि प्रहरीबाट पक्राउ गरिएको भन्दै झन् आक्रोशित बनेको छ ।