काठमाडौंः भन्सार छली अवैध रूपमा ल्याएको ८ सय ८८ ग्राम २४१ मिलिग्राम सुन सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना नगरपालिका–१ बस्ने ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तु बाणगंगा नगरपालिका–८ का २९ वर्षीय सन्दिप चन्द ठकुरी, काठमाडौं बौद्ध बस्ने २२ वर्षीया निर्मला घलान, काठमाडौं बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूण भक्त माथेमा, काठमाडौं बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन, काठमाडौं माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र ललितपुर बागडोल बस्ने भारत दिल्ली कृष्णनगरका ५१ वर्षीय अमन राजपुत रहेका छन् ।
नेपाल वायु सेवा निगमको जहाजमा दुवईबाट काठमाडौं आएका सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर जाँच गर्दा उनीहरुको साथमा सुन भेटिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएको सुन फेला परेको थियो ।
सुरेशको साथबाट ३ सय १६ ग्राम ८१ मिलिग्राम र सन्दिपको साथबाट ५ सय ७२ ग्राम १ सय ६० मिलिग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
अनुसन्धान क्रममा उक्त कार्यमा संलग्न अन्य ५ जनालाई समेत काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।