काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणलाई प्रमुुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले शान्ति सुरक्षासम्बन्धी सवाललाई लिएर बारम्बार जवाफ मागिरहेका छन् ।
जवाफ माग्ने सांसदहरूका अनुसार गृहमन्त्री खाण शान्ति सुरक्षा कायम गर्न असफल भए । बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे संसद् बैठकमा एमाले सांसदहरूले गृहमन्त्री खाणसँग तीन जिल्लाहरूमा भएका घटनाबारे जवाफ मात्र मागेका छैनन्, उनको चर्को आलोचना पनि गर्दै आएका छन् ।
आलोचित गृहमन्त्री खाण भने प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् । २९ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गर्दा नै देउवाको रोजाइमा खाण परेका थिए ।
पहिले रक्षामन्त्री भएका उनलाई देशको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धिको विभागीय मन्त्री देउवाले बनाए पनि सरकारका सर्वाधिक आलोचित मन्त्री भएका छन् ।
संसद् बैठकमा शान्ति सुरक्षाको विषयलाई लिएर गृहमन्त्री खाणको आलोचना गर्नेमध्येका एक जना एमाले सांसद हुन्, यज्ञ बोगटी ।
सांसद बोगटीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु घटनालाई लिएर खाणको आलोचना गर्दै सत्य तथ्य छानबिनको माग मङ्गलबार गरे । उनले प्रहरीले उजुरीसमेत लिन नमान्नुलाई सामान्य ठान्न नहुने पनि बताए ।
शाहीको प्रश्नको जवाफ दिँदै खाणले प्रहरीले उजुरी लिने बताउँदै पन्छिए । एमालेकै सांसद गंगा चौधरीले बर्दियामा गोली लाग्दा भएको युवतीको मृत्यु घटनाबारे संसद्मै प्रश्न गरिन्, ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ? ’
बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
खाणले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र गोली हान्न प्रहरीलाई आदेश पनि नदिइएको जवाफ दिए । घटनाको छानबिनका लागि उनले मन्त्रालयकै सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् ।
संसद् बैठक बसेपछि लगातारजस्तो गृहमन्त्री खाणविरुद्ध एमाले मात्र नभई अन्य पार्टीका सांसदहरूले शान्ति सुरक्षाको विषयलाई लिएर निरन्तर आलोचना गर्दै आएका छन् ।
फेरि, उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) बढुवामा पनि विवादमुक्त हुन सकेनन् । गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै उमेर हदका कारण हाल सेवा निवृत्त अवस्थामा रहेका प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।
रिटको टुङ्गो लाग्न भने बाँकी छ ।
गृहमन्त्री खाण कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेता मानिन्छन् । प्रधानमन्त्री देउवाका विश्वास पात्र भए पनि उनको ‘पर्फर्मेन्स’ भन्ने प्रशंसायोग्य नभएको उनका विवादास्पद कदमले देखाएको छ । न्युज कारखाना