महोत्तरी : नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो ।
गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला लहरा लतारेर सोतर बनाएको किसानको गुनासो छ । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् । महोत्तरीको तरकारी पकेट क्षेत्र मानिने भेगमा पाँच दिनयता भने दिनहुँ नै पानी पर्दै आएको छ ।
लगातार पानी परिरहँदा गोडमेल र उपचार नपाउँदा तरकारी पहँेलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्न पाइएन”, जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादव भन्छन्, “गोडमेल नपाएपछि बारीभरि झार बढेको छ ।”
बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । जेठभित्रै रोपी सक्नुपर्ने भदौरे तरकारीलाई अब ढिलो हुँदै गएको किसान बताउँछन् । “बारीमा पसी सक्नु छैन अहिले, पानीले माटो गालेको छ”, यादव भन्छन्, “जेठ सकिनै लाग्यो, खै यसपालि भदौरे तरकारी रोप्न पाइने छाँट छैन ।”
लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला लहरा पहैँलिएर सुकेका छन् । खासमा वैशाख अन्तिम साता र जेठका साता नै पिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा–४ कै अर्का तरकारी किसान सरोज महतो बताउँछन् । रासस