पाल्पा : परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् ।
पाल्पा जिल्लामै एकमात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई सिकाउन ब्लकमा मकै खेती सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय पाल्पाअन्तर्गत कृषि ज्ञान केन्द्र पाल्पाले हेर्ने गरी यहाँ मकै बालीमा ब्लक कार्यक्रम सुरु गरिएको हो ।
ब्लक कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रुपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका यहाँका किसान ब्लक कार्यक्रममार्फत नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातको वीउ, विभिन्न औजार तथा यन्त्र अनुदानमा प्रयोग गर्न पाउँदा उत्पादन बढ्ने कृषक तुल्सी खनाल बताउँछन् ।
“मकै खेती जाने बुझेदेखि नै गर्दै आएको हो, खेती गर्दा लागत, मेहनत धेरै लाग्ने तर उत्पादन सोचेअनुसार हुँदैनथ्यो, अहिले मेसिनबाट मकै रोप्ने प्रविधि भित्रिएको छ, लाइनमा मकै रोप्ने होइनछ, हामी त अन्धाधुन्ध तरिकाले खेतबारीमा सिधै मकै छथ्र्यौँ, अनि उत्पादन भएन, फल लागेन भन्यौँ र बस्यौँ”, उनले भने ।
सहकारीका ४१४ कृषक आबद्ध भई ब्लकमा मकै खेती गरिरहेका छन् । ब्लक कार्यक्रमअन्तर्गत यहाँ दुई हजार ६०० रोपनी जग्गामा मकै खेती गरिएको छ । मकै खेतीमा ब्लक कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला जग्गा उपयुक्त छ कि छैन त्यसको छनोट गर्नुपर्दछ । कृषि प्राविधिकले उपयुक्त ठहरेको जग्गा छनोट गरी कम्तीमा दुई हजार रोपनी क्षेत्रफलमा खेती गरिनुपर्ने कार्यविधि छ । रासस