काठमाडौंं । नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले रूबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो।
प्रारम्भिक चरणबाट छनोट भएका १९ खेलाडीबाट क्यानले अन्तिम चरणमा १५ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा रुबिना क्षत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल र ममता चौधरी छन्। मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन्। युगान्डासँगको टीट्वेन्टी शृंखलामा टोलीमा स्थान बनाएका सरिता मगर र हिरनमयी रायले भने अन्तिम १५ मा स्थान बनाउन सकेनन्।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन्। त्यसैगरी, समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन्। समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।