टीकापुर : अघिल्लो वर्ष बाढीमा परेका कैलालीका नागरिकलाई यस वर्ष मनसुन नजिकिएसँगै त्रसित बनेका छन् । टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक नदी नियन्त्रणको काममा भइरहेको ढिलाइका कारण त्रासमा बाँचिरहेका छन् । वर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ ।
कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टिकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ । शाहीपुरमा यस वर्ष ६० प्रतिशत तटबन्धको काम सकिएका कारण केही राहत मिल्ने स्थानीयवासी बताउँछन् ।
रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ । कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ ।
टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विगत वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन् । टीकपाुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ । वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्शनले काम सम्पन्न गर्न सकेको छैन । अहिलेसम्म ५० प्रतिशत मात्र काम गरेको बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद बताउँछन् ।
“समयमै काम नभएका कारण वन क्षेत्र कटान हुनुका साथै तल्लो क्षेत्रमा डुबानको जोखिम छ”, उनले भने, “सामुदायिक वनको पश्चिमतिरको हुलाकी सडक पनि कटानको जोखिममा छ । हुलाकी सडकको कामले तीव्रता पाएको भए तल्लो क्षेत्र जोगिने थियो ।”
कर्णालीले टीकापुरको तल्लो क्षेत्रमा ठाउँ–ठाउँमा भङ्गालो बनाएको छ । भङ्गालाबाट बस्तीमा बाढी पस्ने खतरा कायमै रहेको साउदको भनाइ छ । बाढी र कटानले गत वर्ष सयौँ बिघा जमिनमा लगाएको धानबाली नष्ट गरेको थियो । खेती स्याहार्ने बेला गत वर्ष कात्तिक २ गते आएको बाढीले धान नष्ट भएका किसान यस वर्ष वर्षा नजिकिएपछि तनावमा छन् । रासस