काठमाडौँ : भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ ।
गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी छन् ।
“गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन”, उनले भने । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहेकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उनका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् ।
विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिकसत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्छन् । “परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन”, उनले भने ।
सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् । रासस