जुम्ला : भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेशले जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँको ओल्खे पाटनलाई भेडा स्रोत केन्द्रको स्थापना गरिएको छ । प्रदेशभर कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने योजनानुसार जुम्लाको ओदीको ओल्खे पाटनमा भेडा स्रोत केन्द्रको स्थापना गरिएको हो ।
लामा बिष्णु भेडा–पालन समूहका अध्यक्ष नन्दबहादुर रोकायाले ओदीको ओल्खे पाटन भेडाको लागी प्रशस्त चरन क्षेत्र रहेको बताए । यहाँ भेडा–पालनका लागि निकै अनुकुल भूगोल भएको उनको भनाइ छ । उनले भने – ‘कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ओदी २ को पाटनमा भेडाको स्रोत केन्द्र स्थापनाका लागि बहुवर्षीय परियोजन लागू गरेको हो ।’
यहाँ स्थापित भेडा स्रोत केन्द्रले यहाँको आर्थिक समृद्धिमा टेवा पु¥याउने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । ‘जुम्ला मासुमा आत्मनिर्भर हुनेछ’ उनले भने, ‘ कृषि पर्यटनलाई टेवा पुग्नेछ । भेडा स्रोत केन्द्र ओदीमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरबाट यो सालमा ५ वटा राम्निमाक्स, कुपोर्थ जातका विकासी थुमा खरिद गरेर ल्याइएको छ ।’
लामा बिष्णु समूहको अगुवाइमा सञ्चालित भेडाबाख्रा केन्द्रले यहाँको स्वरुप फेरिँदै गएको छ । हिमा गाउँपालिका– २ ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र हेर्न जानेको भीड लाग्न थालेको छ । पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द बहादुर महतका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने कर्णाली सरकारको उद्देश्य अनुसार जुम्लामा भेडा स्रोत केन्द बन्दै गएको हो । उनले भने, ‘नेपालभरि भेडाको उत्पादन घटिरहेको अवस्था छ । तर, जुम्लको हकमा भेडाको उत्पादन बढ्दै गएको छ ।’
ओदीमा २२ सय भेडाको संख्या
हिमा गाउँपालिका– २ ओदी गाउँको मुख्य आय स्रोत भेडा हुन् । त्यहाँ अहिले पनि २२ सय भेडा रहेको ‘लामा बिष्णु भेडा पालक समूह’का सल्लाकार प्रेमबहादुर रोकायाले बताए । उनले भने – ‘यहाँको मुख्य आम्दानी नै भेडा हुन् । समूहमा आवद्ध भएकाको मात्रै ३ सय बढी भेडा छन् । ओदीको ओल्खे पाटनलाई भेडा स्रोतका रुपमा स्थापनाले हामी लगायत अन्यहरुको जीवनस्तर माथी उठ्ने छ । अर्कातिर जुम्लामा मासुमा आत्मनिर्भर हुनेछ भने एकतिर ओदी गाउँ कृषि पर्यटनको गनत्वय बन्नेछ ।’
भेडा स्रोत केन्दले १४ जिल्लामा भेडा निर्यात गर्ने
३ बर्ष अघि सुरु भएको भेडा स्रोत केन्द्रले जुम्लामा मात्रै नभइ अन्य १४ जिल्लामा भेडा निर्यात गर्ने भएको छ । यस विषयमा पशु सेवा कार्यालयका गोविन्द महत भन्छन् – ‘लामा बिष्णु भेडा पालक समूहले त्यो काम गर्नुपर्ने छ ।’
लामा बिष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार, अहिले सो स्रोत केन्द्रमा ३ सय भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई वटा भेडा बस्ने ठूला क्षमताका ब्लक, एक कार्यालय भवन र सात सय मिटर घेरवार कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए ।
भेडाको लेखाजोखा हुने
ओदी पाटन समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको छ । यस क्षेत्रमा सुरु भएको भेडा स्रोत केन्द्र कर्णाली प्रदेश सरकारको उतकृष्ट परियोजना भित्रपर्छ । उक्त पाटन क्षेत्रमा रहने भेडाहरुको लेखाजोखा हुने भएको छ । भेडा स्रोतमा रहेका कुन भेडीले कति ? कहिले ? पाठो वा पाठी पायो ? त्यो कुन जातको हो ? उसको तौल र मुल्य लगायतका कुराको लेखाजोखा उने जनाइएको छ ।
तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड ८० लाख रुपैयाँ निकासा भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक करोड पठाएको थियो भने ०७७/७८ मा ९० लाख र ०७८/७९ मा ९० लाख गरेर प्रदेश सरकारबाट बजेट आएको थियो ।
समूहलाई प्राप्त भएको बजेट मध्ये खर्च भए अनुसार, समूहले गुणस्तर रुपमा काम गरेको अनुगमन समितिको दाबी छ । पहिलो बर्ष भने ५५ लाख कोरोनाका कारण समूहले काम गर्न नसकेर फ्रिज भएको थियो ।
इन्जिनियर धर्मराज शाहीका अनुसार, डीपीआरमा ३ वटा ठूला आधुनिक भेडा बस्ने भवन, एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ । ७ सय मिटर वरिपरी जालीसहितको घेरावार भइसकेको छ । शाहीले दिएको जानकारी अनुसार, समूहले पहिलो वर्षमा ७० भेडा खरिद गरेको थियो । अहिले उक्त भेडा बढेर ३ सय पुगेका छन् ।
ओदीमा रहेको भेडा स्रोत केन्द्रमा अन्य २ वटा करिब पाँचसय भेडा बस्ने क्षमताका भवन, वथशाला निर्माण, खानेपानी, औषधि, उपचार र समूहलाई क्षमता अभिवृद्धिका तालिम लगायतका कार्यक्रम सञ्चाल गरिएको थियो । कम प्रतिशत बजेट आए पनि भउका कामहरु गुणस्तर भएको र बजेट सबै विनियोजन हुने हो भने संरचना र अन्य कामहरु छिट्टै हुने र गुणस्तरीय हुने छन् ।
समूहका सल्लाहकार प्रेम रोकायाले ३० जनाको समूहले स्रोत केन्द्रमा काम गरिरहेको र डीपीआर अनुसारको बजेट आउने हो भने कर्णाली सरकारले लक्ष्य लिए अनुसारको भेडा स्रोत केन्द्र स्थापना गर्न दुई मत नभएको बताए । उनले ३ आर्थिक वर्षमा खासै आउनुपर्ने बजेट नआएको बताए ।
ओदीमा सञ्चालन कार्यक्रम उत्कृष्ट भएको भन्दै हिमा गाउँपालिकाले समेत १० लाख रुपैया विनियोजन गरेको छ । सो रकमको समेत भेडा खरिद गर्ने योजना रहेको छ । अबको केही बर्षमा करिब पाँच सय भेडा स्रोत केन्द्रमा हुनेछन् । वार्षिक पाँचदेखि दश लाख आम्दानी हुने जनाइएको छ । यति मात्रै नभए जिल्ला र बाहिर भेडा निर्यात गरिने भएको हो । यसबाट दर्जन व्यक्तिहरुले रोजगार पाउने छन् ।
उक्त कार्यक्रममा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला, हिमा गाउँपालिका–२ वडा कार्यालय, पशुसेवा कार्यालय र सरोकारवाला निकायले पछिल्लो समय अनुगमन गरिरहेका छन् ।
उत्कृष्ट काममा लगानी गर्न सबै लाग्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख धनप्रसाद शर्माले बताए । भेडास्रोत केन्द्र जुम्लामा संभावना राम्रो भएको उनको भनाइ छ । भेडा स्रोत केन्द्र मात्र होइन गेष्ट हाउस निर्माण गर्र्ने जस्तो उपयुक्त क्षेत्र ओदी रहेको उनको दाबी छ ।
स्थानीयको इच्छाशक्ति र इमान्दारीताले ओदी बस्तीको जीवनस्तर माथी ल्याउने र आय स्रोत बन्ने छ ।