रोल्पा : मुलसरी रोकामगर रोल्पा थवाङकी सामुदायिक अगुवा हुन् । सामुदायिक अगुवा हुनुअघि उनी प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्थिन् । सुरक्षित गर्भपतनको विषय मुलसरीका लागि लाजको विषय थियो ।
प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने जिम्मेवारीसहित उनी सामुदायिक अगुवा छानिएपछि तालिमको अवसर जु¥यो । तालिमपछि अगुवा रोकामगरमा रहेको भ्रम हट्दै गएको आफैँमा परिवर्तन आएपछि उनले विस्तारै दिदीबहिनीसँग प्रजनन स्वास्थ्यको बारे कुराकानी गर्न थाले ।
यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतनको कानुन र अधिकारबारे आमा समूह, टोल समूह र थाक्लवमा आवद्ध दिदीबहिनीलाई सचेत गराउने तथा यसबारे सरकारले दिने सेवाबारे जानकारी गराउने काम थियो मुलसरीको । सुरु सुरुमा दिदीबहिनी अलि निस्क्रिय हुनुहुन्थ्यो, मेरो कुरा खासै चासो दिनुहुँदैनथ्यो विगत सम्झँदै उनले भने ।
मेरो निरन्तर लगावले उहाँहरुको मन जितेछ क्या रे कुरा ध्यानापूर्वक सुन्न थाले । बैठकमा नियमित उपस्थिति र छलफलमा सक्रिय सहभागी हुन थालेसँगै उहाँहरुमा पनि प्रजनन स्वास्थ्यवारे चेतना बढेको छ, मुलसरीले भने । सबै दिदीबहिनीमा यसरी परिवर्तन आयो त भन्दिन् तर अधिकांशमा परिवर्तन आएको जानकारी दिँदै उनले भने, “सामुदायिक अगुवा भएर काम गर्नु अघि प्रायः महिलाले असुरक्षित गर्भपतन गराउने गरेकाले यौन सम्वन्ध राख्दा नै अस्थायी साधन प्रयोग गर्ने सल्लाह दिँदै आएका छौँ। गर्भपतन गराउनै परे नजिकका सूचीकृत स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउन सल्लाह दिने गरेका छाँै।’’
नेपाल सरकारले मुलसरीको गाउँमै रहेको थवाङ स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ । त्यहाँबाट आर्थिक वर्ष २०७६/०७७मा २० वर्षमुनिमा ४ र २० वर्षमाथिका २६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।
सोही स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७७/०७८ मा २० वर्षमुनिका ११ र २० वर्षमाथिका ४१ गरी ५२ जनाले यो सेवा लिएका थिए । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २० वर्षमुनिका ४ र २० वर्षमाथिका १४ गरी १८ जनाले यो सेवा लिएको देखिएको छ । उनीहरुमध्ये सबैले औषधि खाएर गर्भपतन गराएका हुन् । रासस