सुर्खेत : कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नहुने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक थलो बनाउनुपर्ने बताएका हुन् ।
सभामुख शाहीले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक गतिविधिमा बढी केन्द्रित हुने गरेकाले विश्वविद्यालयको विश्वसनियता गुम्न पुगेको विचार व्यक्त गरेका थिए ।
“विश्वविद्यालय पढाउने, अनुसन्धान गर्ने थलो हो, राजनीति गर्ने र राजनीतिक प्रयोगशाला बन्ने थलोका रुपमा पहिचान बनाउनु हुँदैन”, उनले भने, “नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको छ, अब सुधार गरेर गुमेको विश्वास फर्काउनुपर्छ ।”
विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने केन्द्र बन्न नहुने धारणा राख्दै उनले नेपाली युवा विद्यार्थी उच्च शिक्षा पढ्न विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य विश्वविद्यालयले नै गर्नुपर्ने सुझाव दिए ।
सभामुख शाहीले कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले भने, “विश्वविद्यालयलाई प्रविधिमैत्री बनाई विश्वको आवश्यकताअनुसार समयसापेक्ष परिवर्तन भई काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।”
उत्पादित शैक्षिक जनशक्तिलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।